एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

२०८० बैशाख १९, मंगलवार ०८:२४

 

काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ ।

सोमबार बाँकी रहेको खेल आज मंगलबार रिजर्भ डेमा हुदैछ । मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो ।

नेपाल र युएईबीचको खेल बिहान ९ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो ।

उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाल र युएईबीच २०१८ पछि भएको १३ खेलमा नेपाल ७ तथा ६ खेलमा जितेको छ । नेपाल र युएईबीचको पछिल्लो भेटमा नेपाल विजयी भएको थियो ।

मंगलबार पनि वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy