गुजरातमाथि नेपालको सहज जित

२०८० चैत्र १८, आईतवार १७:४६

काठमाडौं । भारतमा आजबाट सुरु फ्रेन्डसिप कप त्रिकोणत्मक टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टोली पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले गुजरातको टोलीलाई ८ विकेटले पराजित गर्यो ।

गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५ दशमलब २ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २६ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३३ रन बनाए । अनिलकुमार शाहले ३५ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए ।  शाह र पौडेलले तेस्रो विकेटका लागि ६५ रनको अविजित साझेदारी गरे ।

कुशल भुर्तेलले १६ बलमा २ छक्काको सहयोगमा १७ तथा असिफ शेखले १६ बलमा २ चौकाको सहयोगमा १६ रन बनाए । भुर्तेल र शेखले पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातको टोलीले १८ दशमलब २ ओभरमा अल आउट हुदै ९८ रन मात्र बनाउँन सकेको थियो ।

गुजरातका लागि रूद्र पटेल २३ बलमा २० तथा सरल प्रजापतीले १६ बलमा १७ रन बनाए । हेमगं पटेलले २३ बलमा २० रन बनाए । अभिशेक देशाईले १५ बलमा ११ रन बनाए । स्मिथ पटेलले ८ बलमा १० रन बनाउँदा गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि गुलसन झाले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए । करण केसीले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

गुजरातको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका थिए ।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ ।

नेपालले दोस्रो खेलमा मंगलबार बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दा बुधबार पुनः गुजरातसँग खेल्नेछ । शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ । समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।

यस प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ गएको थियो । यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy