काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार
सम्पन्न खेलमा आर्मीले मधेश प्रदेशमाथि आठ विकेटको सहज सिजत दर्ता गरेको हो।
मधेशले प्रस्तुत गरेको २८ रनको लक्ष्य आर्मीले दुई विकेट गुमाउँदै पूरा गर्यो। आर्मीका लागि तृतराज दासले ११, इम्रान शेखले अविजित आठ र बसिर अहमदले अविजित चार रन बनाए।
मधेशका लागि दुवै विकेट प्रदीप पासवानले लिए।
फलो अनमा परेको मधेशले दोस्रो इनिङमा १५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो। आइतबार दोस्रो दिनको सुरुआत गरेको मधेशले १४८ रन थप्दा सबै विकेट गुमायो।
मधेशका लागि मायन यादवले ४९, कप्तान हरिशंकर साहले २५, अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमान्शु दत्तले ११ रन बनाए। आर्मीका लागि बसिर अहमदले चार, शाहब आलमले तीन र आकाश चन्दले दुई विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा २२५ रन बनाएको थियो। १०२ रनमै समेटिएपछिमधेश फलो अनमा परेको थियो।
यो जितसँगै आर्मीले ५५ अंक जोडेको तालिकामा शीर्ष स्थानमा छ। आर्मीले तेस्रो खेलबाट मात्र ३५ अंक हासिल गर्यो। यता पराजित मधेशले तीन खेलबाट ३१ अंक बनायो। उसले अन्तिम खेलबाट १० अंक मात्र बटुल्न सक्यो।
