काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको नामिबिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
केही दिन अगाडी प्रारम्भिक टोली घोषणा भए पनि बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम टोली घोषणा गरेको हो ।
क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
प्रारम्भिक टोलीमा रहेका रिजन ढकाल र अर्जुन साउदको स्थानमा देव खनाल र अनिलकुमार शाहले मौका पाएका छन् । देव क्यानडाविरुद्धको सिरिजमा राम्रो ब्याटिङ प्रदर्शन गरेका थिए ।शाहले सोमबार सकिएको क्यानडाविरुद्धको सिरिजमा एक कीर्तिमानी अर्धशतक र एक शतक बनाएका थिए ।
नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको विश्वकप लिग टू अन्तर्गतको ओडिआई सिरिज १५ फेब्रुअरी अर्थात ३ फागुनबाट सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया खेल्नेछन् । दोस्रो खेल १७ फेब्रुअरी अर्थात फागुन ५ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा १९ फेब्रुअरी अर्थात फागुन ७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।
नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा २१ फेब्रुअरी अर्थात फागुन ९ मा नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स खेल्दा नेपाल र नेदरल्याण्ड्सबीचमा २५ फेब्रुअरीमा खेल हुदै यो सिरिज सकिने छ ।
तीनै खेल नेपाली समयअनुसार बिहान सवा नौ मा सुरु हुनेछ ।
नेपाली टोली
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र अनिलकुमार शाह