दिल्लीलाई फराकिलो अन्तरले हराउँदै कोलकाता शीर्ष स्थानमा

२०८० चैत्र २१, बुधबार २३:३७

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १६ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

दिल्लीको घरेलु मैदान विशाखापटनममा कोलकाता १ सय ६ रनको फराकिलो अन्तरले विजयी भयो ।

कोलकाताले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ दशमलब २ ओभरमा अल आउट हुँदै १ सय ६६ रन मात्र बनाउँन सक्यो ।

दिल्लीका लागि कप्तान रिषभ पन्तले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५५ रन बनाए । ट्रिस्टन स्टब्सले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाए । ओपनर डेबिड वार्नरले १३ बलमा १८ तथा अर्का ओपनर पृथ्वी शाले ७ बलमा १० रन बनाए । अन्य खेलाडीले दोहारो अंकमा रन बनाउँन सकेनन् ।

कोलकाताका लागि बरुण चक्रवर्ती र बैभब अरोराले समान ३/३ तथा मिचेल स्टार्कले २ विकेट लिए । आन्द्रे रसेल र सुनिल नारनले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो ।

कोलकाताका लागि सुनिल नारनले ३९ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ८७ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका अंगकृष्ण रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । नारन र रघुवंशीले दोस्रो विकेटका लागि ४८ बलमा १ सय ४ को शतकीय साझेदारी गरे ।

आन्द्रे रसेलले १९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । ओपनर फिलिप साल्टले १२ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाए । रिंकु सिंहले ८ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए । कप्तान श्रेयस अय्यरले ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाए ।

दिल्लीका लागि एनरिक नोर्कियाले ३ तथा इशान्त शर्माले २ विकेट लिए । खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए ।

तेस्रो खेलमा अपराजित यात्रा कायमै गरेको कोलकाता ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चाैथाें खेलमा तेस्रो हार व्यहोरेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy