दिल्लीले पायो कोलकाताबाट २७३ रनको लक्ष्य

२०८० चैत्र २१, बुधबार २१:४५

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १६ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सलाई २ सय ७३ रनको लक्ष्य दिएको छ ।

दिल्लीको घरेलु मैदान विशाखापटनममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनायो ।

कोलकाताका लागि सुनिल नारनले ३९ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ८७ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका अंगकृष्ण रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । नारन र रघुवंशीले दोस्रो विकेटका लागि ४८ बलमा १ सय ४ को शतकीय साझेदारी गरे ।

आन्द्रे रसेलले १९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । ओपनर फिलिप साल्टले १२ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाए । रिंकु सिंहले ८ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए । कप्तान श्रेयस अय्यरले ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाए ।

दिल्लीका लागि एनरिक नोर्कियाले ३ तथा इशान्त शर्माले २ विकेट लिए । खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy