नेपालको बलिङ सामू नेदरल्यान्ड्स १२० रनमा अल आउट

२०८० फाल्गुन १९, शनिबार १३:०७

काठमाडौं । नेपाली बलरको शानदार बलिङ प्रदर्शनमा नेदरल्यान्ड्स १ सय २० रनमा अल आउट भएको छ ।

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय २० रन मात्र बनायो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले २४ बलमा १८ रन बनाए । म्याक्स प्रतिश जिशीको बलमा बोल्ड आउट भए । कप्तान स्कट एडवार्डसले २१ बलमा १८ रन बनाए । कप्तान एडवार्डस प्रतिस जिशीको बलमा नै बोल्ड आउट गरे ।

टिम भान डेर गुग्टेनले २६ बलमा २४ रन बनाए । टिम दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । रोलेफ भान डेर मिर्रोले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए । नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले पहिलो ओभरमा नै दुई विकेट दिलाएका थिए । तेस्रो विकेटका लागि कप्तान एडवार्डस र म्याक्सबीच ५० रनको साझेदारी भएको थियो । यो साझेदारीबाट नेदरल्यान्ड्स खेलमा फर्कने कोशीश गरे पनि त्यसपछि नियमित विकेट गुमाउँदा कम योगफलमा समेटियो ।

नेपालका लागि प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले समान दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यसै सिरिजको पहिलो भेटमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो । तर, नामिबियालाई शुक्रबार मात्र ३ रनले हराएर जितका साथ पुनः नेदरल्यान्ड्सको सामना गर्दैछ ।

एक खेलमा जित हात पारेर फाइनल सम्भावना कायमै राखेको नेपाल नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले पराजित गरि सम्भावना झनै बलियो बनाउँन चाहन्छ । सिरिजमा दुई खेल खेलेको नेदरल्यान्ड्स नेपाललाई हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा फाइनल खेल हुनेछ । खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy