नेपालको लगातार दोस्रो जित

२०८० चैत्र २०, मंगलवार १९:०३

काठमाडौं । फ्रेन्डशिप कप त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको लागि गुजरातको वापीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

दोस्रो खेलमा दोस्रो जित दर्ता गर्ने क्रममा नेपालले बरोडा क्रिकेट एसोसिएसनको टिमलाई २७ रनले हराएको हो ।

नेपालले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा अल आउट हुदैं १ सय २९ रन मात्र जोड्यो ।

बरोडाका लागि भानु पानियाले २६ बलमा सर्वाधिक ३८ रन बनाए । बाबा खानले १८ बलमा २७ रन प्रहार गरे । यस्तै कप्तान विष्णु सोलाङ्कीले ३२ बल खेलेर २५ रन जोड्दा ओपनर अमित पासीले १४ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालको लागि करन केसीले ३ तथा सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए । यस्तै गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएकाे थियाे ।

नेपालका लागि कुशल मल्ल २५ बलमा सर्वाधिक ४० तथा सन्दीप जोराले १६ बलमा २९ रन बनाए । अनिल कुमार शाहले २७ बलमा २५ तथा कप्तान रोहित पौडेलले १३ बलमा १८ रन बनाए ।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ ।

नेपालले तेस्रो खेलमा बुधबार गुजरात क्रिकेट एसोसिएसनसँग खेल्नेछ । शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ । समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।

यस प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ गएको थियो । यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy