काठमाडौं । हङकङले नेपाललाई स्तब्ध बनाएर फ्रेन्डसिप कप जितेको छ ।
हङकङको मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपाललाई ७३ रनले हराएर हङकङले उपाधी जितेको हो । हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलब ४ ओभरमा १ सय ३९ रन बनाउँदै अलआउट भयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल ४ बलमा २ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर विनोद भन्डारी र कप्तान रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेसँगै नेपालले खेलमा फर्कने संकेत गरेको थियो । भन्डारीले २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान पौडेलले २३ बलमा ३० रन बनाए ।
तेस्रो विकेटका लागि कप्तान पौडेल र आरिफ शेखले ५३ रनको साझेदारी गर्दै खेलमा फर्कने संकेत गरेपनि एजाज खानले एकै ओभरमा आरिफ शेख तथा सन्दीप जोरालाई आउट गराएसँगै हङकङ टिममा फर्किएको थियो । नेपालले पछिल्लो ५ ओभरमा १७ रन बनाउँदा ७ विकेट गुमाएको थियो ।
शेखले २१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए । हङकङका लागि एजाज खानले ४ तथा इहाशान खानले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।
हङकङका लागि बाबर हायातले ४९ बलमा ३ चौका र १३ छक्काको सहयोगमा १ सय १० रनको शतकीय ईनिङ खेले । टी-ट्वान्टी आई करियरको दोस्रो शतक बाबरले ४६ बलमा ३ चौका र १२ छक्का प्रहार गर्दै पूरा गरे । शतक बनाउँदै बाबर आकाश चन्दको बलमा कप्तान रोहित पौडेको हातबाट क्याच आउट भए ।
अंशुमन रथले ३२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । रथ प्रतिश जिशीको बलमा आउट भएका थिए । अजिज खानले बलमा रन बनाए । ओपनर मार्टिन कोट्जेले २१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । कोट्जे यसै खेलमा डेब्यु गरेका आकाश चन्दको बलमा आउट भए । अर्का ओपनर तथा कप्तान निजाकत खानले खाता खोल्न सकेनन् ।
तेस्रो ओभरको दोस्रो बलमा नै विकेट लिएर हङकङलाई नेपालले दबाबमा ल्याएको थियो । पाँचौ ओभरमा ३४ रन बनाउँदै हङकङ दबाबमा आए पनि तेस्रो विकेटका लागि बाबर हायात र अंशमन रथबीच ८० रनको साझेदारी भएपछि नेपाल दबाबमा आएको थियो ।
नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिशी, राशिद खानले समान १/१ विकेट लिए ।
सोमबारबाट हङकङमा नै नेपालले त्रिदेशीय टी-ट्वान्टी आई सिरिज खेल्ने छ । त्रिदेशीय टी-ट्वान्टी सिरिजमा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन् । हङकङ भ्रमणका क्रममा नेपालले केही मुख्य खेलाडीलाई आराम दिएको छ । विश्वकप अघि नेपाल हङकङ भ्रमणका क्रममा आफ्नो बेन्च परिक्षण गर्न चाहन्छ ।
त्रिदेशीय सिरिजमा नेपालको पहिलो खेल फागुन २७ अर्थात मार्च १० मा घरेलु टोलीसँग खेल्ने छ । दोस्रो खेलमा पिएनजीसँग फागुन २९ अर्थात मार्च १२ मा खेल्नेछ ।
समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ । फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ । मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ ।
नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।