काठमाडौं । दुई खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले आयरल्यान्ड ए लाई जितका लागि १ सय ९९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रन बनायो ।
नेपालका लागि गुलसन झाले ३२ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौकाको सहयोगमा ३३ रन बनाए । कुशल भुर्तेलले १६ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।
आसिफ शेखले ९ बलमा ११ रन बनाए । अनिल शाहले ११ बलमा १२ रन बनाए ।
आयरल्यान्डका लागि म्याथ्यु फोस्टरले ३ तथा बेन व्बाइटले २ विकेट लिए ।
नेपालले सोमबार भएको सिरिजको पहिलो खेल ६ विकेटले जितेको थियो । यो खेल जितेर सिरिज क्लिन स्विपको लक्ष्यमा नेपाल रहेको छ । आयरल्यान्ड पनि जितका साथ सिरिजमा बराबरी गर्न चाहन्छ ।