काठमाडौं । नेपाल हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको उपाधीको लागि पपुवा न्युगिनी(पीएनजी)सँग खेल्ने भएको छ ।
आज भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली हङकङलाई पराजित गरि पीएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
पीएनजीले हङकङलाई १० विकेटले पराजित गरेको हो । आज नै भएको समूह चरणको खेलमा नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ दशमलब ४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
पीएनजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्काको सहयोगमा ६१रनको अर्धशतकीय ईनिङ खेले । टोनी उराले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङले १८ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय २१ रन बनाएको थियो ।
हङकङका लागि जिशान अलिले २९ बलमा १ चौका र ६ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
पीएनजीका लागि कबुआ मोरिया, आली नो, सेसे बाउ र असद भालाले समान २ विकेट लिए ।
अब पीएनजीले बुधबार हुने फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।