कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाल सहभागी विश्वकप लिग-२ अन्तर्गत नवौं चरणको खेल तथा विश्वकप च्यालेन्ज ‘बि’ को खेल अधिकारिक रुपमा सार्ने निश्चित भएको छ।
नेपालले विश्वकप लिग-२ अन्तर्गत जुलाई ४ देखि ११ मा स्कटल्याण्डमा आयोजक टिम तथा नामिबीया बिरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने तालिका रहेको थियो। सिरिजमा नेपालले स्कटल्याण्ड र नामिबियासंग समान २/२ गरि ४ खेल तथा सिरिजमा कुल ६ खेल खेलिने तालिका रहेको थियो।
“हाल जारि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध र विश्व स्वास्थ्य समस्याका जारि रहेका कारण सरकार र स्वास्थ्य अधिकारीहरुको निर्देशन तथा सहभागी राष्ट्रहरुको समेत राय लिंदै दुइ वटा छनौट प्रतियोगिता जुन २०२३ एकदिवसीय विश्वकप छनौट हुने बाटो हो त्यसलाई सारे निर्णय गरेका छौँ।” आईसीसीले बिहिबार जारि गरेको बिज्ञप्तिमा बताईएको छ।
“हामि आयोजक राष्ट्र तथा सदस्यहरुसंग अब प्रतियोगिता पुनः कहिले खेलाउन उपयुक्त हुने बारे छलफल गर्नेछौँ। आईसीसीले सधै खेलाडीहरु, अफिसियलहरु र समर्थकहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ।” बिज्ञप्तिमा भनिएको छ।
यस्तै आईसीसीले युगान्डामा अगस्ट ३ देखि सुरु हुने विश्वकप च्यालेन्ज लिग ‘बि’ पनि स्थगित गरेको छ। प्रतियोगितामा आयोजक टिम सहित बर्मुडा, हंगकंग, इटाली, जर्सी र केन्या सहभागी रहेका थिए।
आईसीसीले अब दुवै सिरिज कहिले गर्ने तथा आगामी सिरिजहरुको तालिका के रहने बारे निर्णय गरेको छैन। बुधबार बसेको आईसीसी बोर्ड बैठकले टि-२० विश्वकप बारे पनि आगामी महिना गर्ने निर्णय गरेको छ।
नेपालले पछिल्लो पटक घरेलु मैदानमा फेब्रुअरीमा अमेरिका र ओमानसंग त्रिकोणात्मक सिरिज खेलेको थियो। त्यसपछि अप्रिलमा नेपालले नामिबियामा खेल्ने नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज पनि स्थगित भएको थियो। लगत्तै जुनमा सुरु हुने पपुवा न्युगिनीमा आयोजक पपुवा न्यु गिनी र युएई सम्मिलित सिरिज र त्यसपछि जुलाईको स्कटल्याण्डमा हुने स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज पनि नहुने निश्चित भएको हो।
नेपालले अब २०२१ जनवरीमा ओमानमा तथा फेब्रुअरीमा नेपालमा अर्को त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ। तर कोरोना महामारीको कारण आईसीसीको तालिकामा फेरबदल हुनसक्ने सम्भावना रहेको छ।
कोरोना महामारी पछि नेपालमा सबै खेल गतिविधि ठप्प रहेको छ भने नेपाली खेलाडीहरु पनि अभ्यासमा फर्कन सकेका छैनन्। सरकारले लकडाउन खुकुलो पारेको अवस्थामा नेपाल क्रिकेट संघले आफ्नो कार्यक्रमहरु अघि बढाउने बताएको छ।
आइसीसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ । लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् ।
लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । नेपालले गत माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग दुईको पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितका दुवै खेल जितेको थियो ।
नेपालले हालसम्म खेलेका चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ । लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ ।
नेपाल चार अङ्क बटुल्दै छैठौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ । आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्ट देखि शुरु भएको हो ।