काठमाडौं । नेपाल ए ऐतिहासिक खेलमा क्यानडा-११ सँग स्तब्ध भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा तीन खेलको अनौपचारिक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल ए पराजित भएको हो ।
नेपाल ए ४ विकेटले पराजित भएको हो । नेपाल ए ले दिएको २ सय १७ रनको लक्ष्य क्यानडा११ ले ४९ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
क्यानडाका लागि नवनित धालीवालले ७६ बलमा १० चौका र २ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय ईनिङ खेले । ८० रन बनाउँदै धालीवाल सागर ढकालको बलमा आउट भए । निखिल दत्तले १ सय १५ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । पाँचौ विकेटका लागि धालीवाल र दत्तले ७५ रनको साझेदारी गरे । कप्तान साद विन जाफरले ४३ बलमा २३ रन बनाए ।
नेपालका लागि साहाब आलामले २ तथा प्रतिश जिशी, राशिद खान, सागर ढकाल र बसिर अहमदले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।
नेपालका लागि बसिर अहमदले ५५ बलमा ३ चौका र १ छक्कको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । नेपाल ए टिमबाट अर्धशतक बनाउने बसिर पहिलो क्रिकेटर हुन् । राशिद खानले ६६ बलमा ५ चौकाको सहयोगमा ४० रन बनाए । खान क्यानडाका कप्तान साद विन जाफरको बलमा बोल्ड आउट भए । ओपनर मयन यादवले ५६ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । ३५ रन बनाएका यादव हर्ष थाकरको बलमा आउट भए ।
किरण ठगुन्नाले ३२ बलमा ३ चौकाको सहयोगमा २५ रन बनाए । विवेक यादवले ३४ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । विवेक र बसिरले सातौ विकेटका लागि ५९ रनको साझेदारी गरे ।
सन्दीप जोराले २५ बलमा १४ रन बनाए । क्यानडाका लागि कप्तान साद विन जाफरले ३ तथा ईश्वरजित सोहीले २ विकेट लिए ।
नेपाल ए ले पहिलो पटक ३ खेलको एकदिवसीय सिरिज क्यानडा एघारसँग खेलिरहेको छ । क्यानडा एघारसँगको दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार छ ।
