काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा संयुक्त रुपमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको २६ औं खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै सुपर आठमा प्रवेश गरेको छ ।
वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको खेलमा घरेलु टोली १३ रनले विजयी भयो ।
वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए । मिचेल स्यान्टेनरले १२ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए । ओपनर फिन एलेनले २३ बलमा २६ तथा ड्यारियल मिचेलले १२ रन बनाए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले चार तथा गुणकेश मोटीले तीन विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि शेरफन रादरफोर्डले ३९ बलमा २ चौका र ६ छक्काको सहयोगमा अविजित ६८ रनको अर्धशतकीय इनिङ खेले । निकोलस पुरनले १२ बलमा १७ तथा अकिल होसेनले १५ रन बनाए ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले तीन तथा लकि फर्गुसन र टिम साउदीले समान दुई दुई विकेट लिए । जेम्स निशम र मिचेल स्यान्टेनरले समान एक एक विकेट लिए ।
तीन खेलमा अपराजित वेस्ट इन्डिज समूह सी बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली हो । यस समूहबाट अर्को टोलीका रुपमा अफगानिस्तान र न्युजिल्यान्डको सम्भावना रहेको छ । अफगानिस्तानको प्रवल सम्भावना रहँदा न्युजिल्यान्डको सम्भावना न्युन बनेको छ ।