काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान सवाइमान सिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो ।
राजस्थानका लागि रियान परागले ४५ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ८४ रनको अर्धशतकीय ईनिङ खेले । रविचन्द्रन आश्विनले १९ बलमा ३ छक्काको सहयोगमा २९ रन बनाए । रियान र आश्विनले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।
पराग र धुव्र जुरेलले पाँचौ विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । जुरेलले १२ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए । सिमरन हिटमायरले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १४ तथा कप्तान सन्जु सामसनले १४ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए ।
छैटौं विकेटका लागि पराग र हिटमायरले १६ बलमा अविजित ४३ रनको साझेदारी गरे । राजस्थानले अन्तिम ५ ओभरमा १ विकेट गुमाएर ७७ रन बनाएको थियो ।
दिल्लीका लागि मुकेश कुमार, एनरिक नोर्किया, खलिल अहमद, कुलदिप यादव र अक्षर पटेलले समान १/१ विकेट लिए ।
जारी सिजनमा राजस्थान रोयल्सले आफ्नो पहिलो खेल जितेको थियो । दिल्लीले भने आफ्नो पहिलो खेलमा हार व्यहोरेको छ।
राजस्थानले अघिल्लो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो । दिल्ली भने पञ्जाव किंग्ससँग पराजित भएको थियो।
राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ। राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो । २०२२ को उपविजेता टिम हो।
त्यसैगरी दिल्ली क्यापिटल्स ऋषभ पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपीएलबाट क्रिकेटमा पुनरागमन गरेका छन्।
दिल्ली क्यापिटल्सको आइपीएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो ।
