काठमाडौं । पाकिस्तानलाई लगातार दुई टि ट्वान्टी आईमा पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ ।
शनिवार भएको दोस्रो टि ट्वान्टी आईमा अस्ट्रेलियाले पाकिस्तानमाथि १३ रनको जित हात पारेको हो । जितसँगै अस्ट्रेलिया तीन खेलको सिरिजमा २० ले अघि रहेको छ ।
अस्ट्रेलियाले दिएको १ सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा अल आउट हुदै १ सय ३४ रनमा समेटियो ।
पाकिस्तानका लागि उस्मान खानले ३८ बलमा ४ चौका र १ छक्कको सहयोगमा सर्वाधिक ५२ रन जोडे । इर्फान खानले २८ बलमा नट आउट ३७ तथा कप्तान मोहम्मद रिजवानले १६ रन जोडे । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि स्पेन्सर जोनसनले ४ ओभरमा २६ रन खर्चिएर ५ महत्वपुर्ण विकेट लिए । एडम जाम्पाले २ तथा जेभियर ब्राटलेटले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि ओपनर म्याथ्यु शर्टले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३२ रन जोडे । आरोन हार्डीले २३ बलमा १ चौका र १ छक्काको सहयोगमा २८, ग्लेन म्याक्सवेलले २० बलमा २१ तथा ज्याक फ्रेजरले ९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।
पाकिस्तानका लागि हरिस रउफले ४, अब्बास अफ्रिदीले ३ तथा सफियान मुक्युमले २ विकेट लिए । दुई देशबीचको तेस्रो खेल सोमवार रहेको छ ।
