काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश र विभागिय टोली नेपाल एपीएफ क्लबले आआफ्नो खेलमा सहज जित दर्ता गरेका छन् ।
टियु मैदान कीर्तिपुरमा भएको खेलमा ओपनर इशान पाण्डे र स्पिनर सुर्य तामाङ चम्कँदा बागमती प्रदेशले सहज जित निकालेको हो ।
लुम्बिनी प्रदेशमाथि बागमती प्रदेशले ६ विकेटको जित हात पारेको हो ।
लुम्बिनीले दिएको १ सय ७ रनको लक्ष्य बागमतीले १७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गरे ।
बागमतीको जितमा ओपनर इशान पाण्डेले ५४ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान रित गौतमले ३३ बलमा २४ रन बनाए ।
लुम्बिनीका लागि निर्मल गुरुङले दुई तथा अभिषेक गौतम र कृष्ण कार्कीले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३२ दशमलब २ ओभरमा १ सय ६ रन बनाउँदै अल आउट भयो ।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले ५५ बलमा २८ तथा निर्मल गुरुङले ३२ बलमा अविजित २७ रन बनाए । प्रज्वल थापाले २५ बलमा १४ रन बनाए । ओपनर विराट भण्डारीले २९ बलमा १३ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
लुम्बिनीलाई कम रनमा रोक्न बागमतीका लागि सुर्य तामाङले १० ओभरमा २६ रन खर्चिएर ६ विकेट लिए । विपीन आर्चायले दुई तथा प्रतिश जिशी र क्रिजन गुरुङले समान एक एक विकेट लिए ।
बागमतीले शीर्ष चारमा रहँदै एलिट ट्रफि खेल्ने सम्भावना कायमै राखेको छ । बागमतीको समूह चरणको अन्तिम खेल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सकेको छ ।
बागमतीको शीर्ष दुईमा रहेर फाइनल सम्भावना पनि कायमै रहेको छ । पराजित लुम्बिनीको शीर्ष चारमा रहने सम्भावना लगभग समाप्त भएको छ ।
उता, मुलपानीमा शनिबारै भएको खेलमा एपीएफले गण्डकी प्रदेशमाथि ८८ रनको जित निकालेको छ ।
एपीएफले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी ३३ दशमलब ४ ओभरमा १ सय १९ रनमा अल आउट भयो ।
गण्डकीका लागि ओपनर समिर कंडेलले ६४ बलमा ३३ रन बनाए । अर्का ओपनर ईश्वर क्षेत्रीले ३० बलमा २८ तथा कप्तान विपीन खत्रीले १३ बलमा अविजित १८ रन बनाए ।
एपीएफका लागि अमरसिंह राउटेलाले चार तथा मौषम ढकालले तीन विकेट लिए । भुवन कार्कीले दुई तथा रमेश कुर्मीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ दशमलब २ ओभरमा अल आउट हुँदै २ सय ७ रन बनायो ।
एपीएफका लागि ओपनर लोकेश बमले ६७ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । प्रदिप ऐरीले ४५ बलमा ३९ तथा भुवन कार्कीले ५२ बलमा ४५ रन बनाए । पुरन विकले ४६ बलमा ३० रन बनाउँदा एपीएफका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
गण्डकीका लागि कमल परियारले तीन तथा अमृत गुरुङ, सन्दीप पराजुली र विपीन खत्रीले समान दुई दुई विकेट लिए ।
सात खेलमा चौथो जित हात पारेको एपीएफको शीर्ष चार सम्भावना कायमै छ । पराजित गण्डकीको भने शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ ।