लोकेश जोशी/धनगढी
राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही जिल्लाको सिद्धार्थ रंगशाला सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष १४ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता-२०८० को पहिलो खेलमा बिकास आग्रीको उत्कृष्ट बलिङ मद्दतले कञ्चनपुरले कैलालीलाई १ विकेटको झिनो अन्तरले पराजित गर्न सफल हुँदै जारी प्रतियोगितामा विजयी सुरुवात पनि गरेको छ।
प्रतियोगिताको पहिलो खेलमा कैलाली जिल्लाले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, कैलाली जिल्लाले निर्धारित ५० ओभरको खेलमा ३२.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १८५ रन जोड्न सक्यो।ब्याटिङ्गतर्फ कैलालीका लागि टेक रावतले ५६ बलमा सर्वाधिक ४१ रन बनाउन सफल हुँदा अभिषेक पालले ३६ बलमा महत्त्वपूर्ण ३५ रन बनाउन सफल भएपनि अन्य ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न नसक्दा टोलि सस्तैमा समेटिन पुगेको कैलाली जिल्लाका प्रमुख प्रशिक्षक देवनारायण झाले बताउनुभयो।बलिङ्गतर्फ कञ्चनपुरका लागि बिकास आग्रीले ६.१ ओभरमा २६ रन खर्चँदा अर्का बलर दिपक चन्दले पनि ७ ओभरमा ३९ रन खर्चंदै समान ४/४ विकेट लिन सफल भए।
१८६ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कञ्चनपुरले निर्धारित ५० ओभरको खेलमा ३४.५ ओभर खेल्दै ९ विकेटको क्षति १८६ रन बनाउन सफल हुँदै रोमाञ्चक १ विकेटको जित आफ्नो नाम दर्ता गराउन सफल भयो।ब्याटिङ्गतर्फ कञ्चनपुरका लागि प्रकाश पाण्डेले ६९ बलमा सर्वाधिक ५० रनको उत्कृष्ट अर्धशतकिय पारी खेल्न सफल हुँदा किरन ठगुन्नाले ३८ बलमा ४२ रन बनाउन सफल भए।बलिङ्गतर्फ कैलालीका लागि डम्मर माझीले ५ ओभरमा २२ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन।
प्रधानमन्त्री कप पुरुष प्रदेस्तरिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेल कञ्चनपुर जिल्लाले १ विकेटले जित्न सफल भयो।उक्त खेलमा म्यान अफ दी म्याच कञ्चनपुरका बिकास आग्री घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।
प्रतियोगिताको दोश्रो दिनको दोश्रो एकदिवसीय खेल आज पौष १५ गते कैलाली र अछामबीच बिहान ०९:३० बजेदेखि सुरु हुने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वाशुदेव जोशी ज्यूले जानकारी गराउनुभयो।