भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

२०८१ आश्विन ३, बिहीबार १८:१०

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक समारोहका बीच भक्तपुरमा सम्पन्न भएको हो ।

‘भक्तपुर क्रिकेटको विकासको प्रशस्त सम्भावनालाई मध्यनजर राख्दै विभिन्न स्तरका प्रतियोगिताहरू, भौतिक पूर्वाधारहरूको विकास निर्माण लगायतका क्रिकेट गतिविधिहरू संघको प्राथमिकतामा रहेको छ,’ संघका अध्यक्ष पाण्डेले भने ‘संघले क्रिकेट विकास सम्बन्धी प्रशिक्षण तालिम कार्यक्रमहरू, अनुसन्धान, कार्यशालाहरू आयोजना गर्दै खेलको गुणस्तर वृद्धि गर्ने प्रयासलाई अबका दिनमा प्राथमिकतामा राख्नेछ ।’

साधारण सभामा संघका सचिव संजय बस्नेतले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष कवि खागीले वार्षिक आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए । साधारण सभाले कार्य समितिबाट प्रस्तुत भएको आ.व २०८०/०८१ को वार्षिक प्रगति विवरण, वार्षिक आर्थिक प्रतिवेदन, वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले आ.व २०८१/०८२ को वार्षिक लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ । साभारण सभाले आ.व २०८१/०८२ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेट पारित समेत पारीत गरेको छ ।

चालु आ.व २०८१/०८२ मा एनसीसीएस आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगितालाई निरन्तरता दिईने साधारण सभाले निर्णय गरेको छ । साधारण सभाले उपत्यकाव्यापी विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने, खुला क्लब स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने र भक्तपुर क्रिकेटको विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई क्रमिक रूपमा सम्मान गर्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy