काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले मंगलबार आफ्नो तेस्रो खेल खेल्दैछ ।
आफ्नो तेस्रो खेलमा नेपालले भारतको सामना गर्दैछ । नेपालको भारतको राष्ट्रिय क्रिकेट टोलीसँग टी-२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो ।
२०१६ को एसिया कपमा नेपाल र भारतबीच खेल भएको थियो । तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी-२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी-२० मान्यताको मात्र भएको थियो ।
२०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी-२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तराष्ट्रिय मान्यताका हुदै आएका छन् ।
२०२४ को नवौं संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।
उता, भारतले पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा युएईलाई ७८ रनले पराजित गरेको थियो ।
नेपाल र भारतबीचको खेल डम्बुला क्रिकेट रंगशाला श्रीलंकामा मंगलबार बेलुका सवा सातमा हुनेछ ।