काठमाडौं । भारतका लागि सन् २०१२ को यु १९ विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
लुम्बिनीले तेस्रो विदेशी खेलाडीको रुपमा विकेट किपर ब्याटर उन्मुक्तलाई टोलीमा अनुबन्ध गरेको बुधवार विज्ञप्ती मार्फत जनाएको छ । लुम्बिनीले यसअघि इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्स र अस्ट्रेलियाका अलराउन्डर बेन कटिङलाई टोलीमा अनुबन्ध गरेको थियो ।
३१ वर्षिय उन्मुक्तले ९० टि२० खेलमा ३ शतकको सहयोगमा १ हजार ७ सय ९५ रन बनाएका छन् । भारतीय क्रिकेटबाट सन्यास लिएका उन्मुक्त हाल अमेरिकामा नै बसोबास गर्छन् । उन्मुक्त अमेरिकाको टोलीबाट खेल्ने अन्तिम तयारीमा रहेका छन् । उन्मुक्तले इन्डियन प्रिमियर लिग(आईपिएल) लगायतका विश्वका चर्चित फ्रेन्चाईज लिगको अनुभव लिईसकेका छन् ।
“नेपाल प्रिमियर लिगको पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु” उन्मुक्तले भनेका छन् ।
“उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौं ” लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले आफ्नो उत्साह व्यक्त गर्दै भनेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले केही साता अघि मात्र मुख्य प्रशिक्षकमा नन्दन फाडनिसलाई नियुक्ती गरेको थियो । एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
लुम्बिनी लायन्स टिम
रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द