सन्जु शतकमा भारतको सहज जित

२०८१ कार्तिक २४, शनिबार ०८:४६

काठमाडौं । ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि-२० आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई सहज रुपले पराजित गरेको छ ।

शनिवार विहान सम्पन्न खेलमा भारतले दक्षिण अफ्रिकामाथि ६१ रनको जित हासिल गरेको छ । जितसँगै ४ खेलको टि-२० आई सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा अल आउट हुदै १ सय १४ रन मात्र बनाउँन सक्यो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक केल्सेनले २२ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५, जेरार्ड कोट्जेले ११ बलमा ३ छक्काको सहयोगमा २३, ओपनर रायन रिकल्टनले ११ बलमा २१ तथा डेविड मिलरले २२ बलमा १८ रन जोडे ।

भारतका लागि वरुण चक्रवर्ती र रवि बिश्नोईले समान ३, आभेस खानले २ तथा अर्शदिप सिंहले १ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको डर्बनमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनको योगफल तयार गर्यो ।

भारतका लागि ओपनर सन्जुले ५० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय ७ रन बनाए । टि-२० आई करियरको दोस्रो शतक सन्जुले ४७ बलमा पूरा गरे ।

टि-२० आईमा सन्जुको यो लगातार दोस्रो शतक हो । गत महिना हैदरावादमा बंगलादेशविरुद्ध पनि सन्जुले शतक प्रहार गरेका थिए । यस्तो सफलता प्राप्त गर्ने सन्जु पहिलो भारतीय क्रिकेटर हुन् ।

सन्जुले दोस्रो विकेटका लागि कप्तान सूर्यकुमार यादवसँग ६६ रनको साझेदारी गरे । सूर्यकुमारले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन जोड्दा तिलक बर्माले १८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३३ रन बनाए । रिंकु सिहले १० बलमा ११ रन बनाए ।

भारतले १३.३ ओभरमा १ सय ५० रन जोडेकोमा दक्षिण अफ्रिकाले पछिल्ला ओभरमा राम्रो बलिङ गर्दा विशाल योगफल तयार गर्न सकेन । दक्षिण अफ्रिकाले पछिल्लो ५ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिएको थियो ।

दक्षिण अफ्रिकाका लागि जेरार्ड कोट्जेले ३ तथा मार्को यानसन, केशब महाराज, पिटर, प्याट्रिक क्रुजरले समान १ विकेट लिए ।

दुई देशबीचको दोस्रो टि२० आई आइतवार रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy