विराट कोहली एसिया कप नखेल्ने

  • विकेटनेपाल – १७ भदौ, आइतवार

भारतीय टोलीका नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएका छन्। भारतले शनिवार सार्वजनिक गरेको एसिया कप खेल्ने टोलीमा कोहलीलाई समावेश गरिएको छैन।

इंग्ल्याण्ड बिरुद्धको ५ टेस्टको शृंखला अन्तर्गत यति बेला इंग्ल्याण्डमा रहेका कोहलीलाई आराम दिनका लागि टोलीमा समावेश नगरिएको छनौटकर्ता एमएसके प्रसादले बताए। उनले भने, “उनी पछिल्लो केहि समय यता लगातार क्रिकेट खेलिरहेका छन् र उनीमाथी रहेको बोझलाई मध्य नजर गर्दै हामीले उनलाई आराम दिएका छौं। ”

कोहलीलाई आराम दिइएपछि भारतको कप्तानी भने रोहित शर्माले गर्नेछन्। रोहितको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा शिखर धवन, लोकेश राहुल, अम्बाती रायडु, मनिष पाण्डे, केदार जाधव, महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, हार्दिक पान्ड्या, कुलदिप यादव, युज्भेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, शार्दुल ठाकुर र खलिल अहमद रहेका छन्।

भारतले एसिया कपमा आफ्नो पहिलो खेल सेप्टेम्बर १८ मा छनौट प्रतियोगिताको बिजेतासंग खेल्ने छ। यस्तै सेप्टेम्बर १९ मा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। एसिया कप प्रतियोगिता युएईमा यहि सेप्टेम्बर १५ तारिकबाट सुरु हुँदैछ। प्रतियोगितामा भारत, पाकिस्तान सहित श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनौट प्रतियोगिताको उपाधि जित्ने एक राष्ट्रले सहभागिता जनाउनेछन्।

मलेसियामा जारि छनौट प्रतियोगितामा युएई, ओमान,मलेसिया, नेपाल, सिंगापुर र हंगकंग सहभागी छन् जसमध्ये बिजेता टिम एसिया कप खेल्न छनौट हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy