पिपिएल घटना प्रति सन्दिपले माफी माग्दै भने ‘मिस अन्डर्रस्ट्याण्डिंग भयो’

Sandeep Lamichhane
  • विकेटनेपाल, मङ्सिर-१ – शनिवार 

तिहार अघि सम्पन्न पोखरा प्रिमियर लिगमा अम्पायरसंग बिबाद र फोटो खिचाउने क्रममा फ्यानहरु बीच भएको झडपको घटनाबारे स्टार खेलाडी सन्दिप लामिछाने स्पस्टिकरण दिंदै माफी समेत मागेका छन्।

सूट दयाट फिट्स ( Suit That Fits ) ले सन्दिप लामिछानेलाई ब्रान्ड एम्बासडर घोषणा गर्ने कार्यक्रम थियो। कार्यक्रम पछि पत्रकारहरुसंग सन्दिपले आगामी प्रतियोगिता र पिपिएल घटनाबारे खुलेर बोलेका हुन्।

Suit That Fits ले सन्दिपलाई ३ बर्षको लागि ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ। दुवै पक्षले सम्झौता वापतको रकम भने खुलाएका छैनन्। घोषणा कार्यक्रममा ब्राण्डका सीईओ ओम भक्त योगीले लामिछानेलाई ब्रान्ड लोगो लगाईदिंदै सन्दिपलाई ब्रान्ड एम्बासडर घोषणा गरेका थिए।

पोखरा प्रिमियर लिगको दौरान बिराटनगर टाईटन्स टिमको कप्तानी गरिरहेका सन्दिपले चितवन राइनोजसंगको खेलमा अम्पायरले किशोर महतोको बललाई ‘नो बल’ दिएपछि सन्दिपले अम्पायर संजय सिग्देलसंग बिबाद गरेका थिए। खेलपछि उनलाई म्याच रेफ्री सत्यजित सरकारले अम्पायरको निर्णयको अनादर गरेको आरोपमा कारवाही स्वरुप डि-मेरिट अंक दिएका थिए। अम्पायरसंग विवाद पछि सन्दिपको विपक्षमा मैदानमा उपस्थित दर्शकहरुले ‘सन्दिप घमण्डी’ भन्दै बारम्बार नाराबाजी गरेका थिए। सन्दिपले दर्शकहरुले त्यसो भन्दै गर्दा दर्शक पट्टि फर्केर हात उचाल्दै तालि बजाएका थिए।

पिपिएल पछि पहिलो पटक मिडियासंग आमने-सामने हुने क्रममा सन्दिपले सुरुवातमै आफ्नो गल्ति भएको स्वीकार गरे-

“गल्ति सबैबाट हुन्छ, म सोच्छु त्यहाँ गल्तिहरु भएको थियो र मिस-अन्डर्रस्ट्याण्डिंग ( असमझदारी ) भएको थियो दुवै तर्फबाट, म समर्थकहरुलाई दोस दिन चाहन्न, वहाँहरुले माया गर्नुहुन्छ सधै, त्यो एउटा खेलले गर्दा कथा यहाँ सम्म पुग्यो” सन्दिपले अझ स्पस्ट पारे-

“मैले एउटा मात्र प्रश्न अम्पायरलाई गरेको थिए, प्रतियोगितामा टिभी अम्पायर प्रयोग गरिरहेका छौ जुन प्रयोग गरेर त्यो नो-बल चेक गर्न सकिन्छ , ब्याट्सम्यान आउट हुँदा पनि जहिले त्यो नो-बल छ वा छैन हेर्ने गरिन्छ”

अम्पायरसंगको बिबाद बारे स्पस्ट पारेका उनले प्रतियोगिताको पहिलो खेलमा फ्यानहरुसंग फोटो खिचाउने क्रममा भएको झडपको स्थितिबारे पनि बताए। पिपिएलको पहिलो खेलमा पोखरा पल्टनसंग खेलपछि सन्दिपले पुलिसलाई गालि गरिरहेको भिडियो सामाजिक संजालमा व्यापक भएको थियो।

“तपाईको डगाउटमा ( मैदानमा खेलाडीहरु बस्ने ठाउँ ) आएर फोटो खिचाउन प्रतिबन्ध गरिएको हुन्छ र कसैले पनि भिडियो बनाउन पाउदैन मेरो हिसाबमा त्यो नै हुन्छ”

फोटो खिचाउन १५-२० जना समर्थकहरु बिराटनगर टाईटन्सको डगाउटमा पुगेपछि खिचातानीको स्थिति आएको जसबाट आफुलाई जोगाउन प्रहरी आएको र प्रहरीले आफुलाई नचिन्दा आफूमाथि उल्टै बल प्रयोग भएर धकेलिएपछि आफु आक्रोसित भएको उनले खुलाए-

“त्यो दिन एउटा पुलिसलाई पठाईएको थियो कि सन्दिपलाई बचाउनको लागि र कम्तिमा वहाँलाई पठाउदा सन्दिप को हो भनेर चिनाएर पठाउनु पर्थ्यो”

“वहाँ ( पुलिस ) आएर मलाइनै एकदमै बल लगाएर धकेल्नु भयो, झन्डै म लडेको थिए त्यति बेला र त्यही बेलामा फ्यानहरु मध्ये एकजनाले भिडियो पनि बनाउनु भयो” फ्यानहरुको त्यो व्यवहारबाट दुखद महसुस भएको समेत उनले बताए-

“एकदम गार्हो महसुस हुन्छ कि तपाईले यति आशा गर्नुहुन्छ आफ्नो फ्यानहरुसंग, वहाँहरुले नै यस्तो गर्नुहुन्छ, त्यसपछि म केहि सचेत भाको हो तर मैले नाइँ चाही ( फोटो खिच्न ) कहिले पनि भन्दिन”

“किनभने कहिले कहीं यस्तो समय आउछ कि कसैले तपाईलाई तानेर फोटो खिचाउछ, कसैले धक्का हान्छ, एउटा मुड हुन्छ खेलाडीको, तर पनि मैले कहिले पनि कसैलाई नाई ( फोटो खिच्न ) भनेको छैन”

Sandeep Lamichhane

फ्यानहरुबाट धेरै माया पाएको स्वीकार्दै उनले केहि फ्यानहरुबाट गल्ति भएको पनि औल्याए-

“वहाँहरुले यति माया दिनुभाको छ सुरुवात देखि अहिलेसम्म , फोटो लिंदा नराम्रो भनेको छैन र थोरै पनि नराम्रो भन्दा यति ठुलो इशु हुन्छ”

“२-४ जना जसले इशु बनाउनु भयो वहाँहरुले पनि केहि न केहि गल्ति गर्नु भयो, मेरो केसमा अरु कोहि पनि भएको भए भिडियोको जुन बिबाद भएको थियो त्यसले सबै जना सचेत हुनुहुन्छ होला”

उनले पुनः गल्ति स्वीकार गर्दै आफु सिक्ने क्रममा रहेको बताए-

“गल्ति सबैसंग हुन्छ र सबैले सिक्दै जान्छ किन भने सिक्ने समय कहिले पनि जाँदैन, जन्म देखि नै सिक्दै जाने हो र म सोच्छु सिक्ने समय सधै रहीरहन्छ”

पिपिएल पछि आफुले परिवार लामो समय पछि समय बिताउने मौका पाएको र परिवार पनि त्यो बिबाद परिवारसम्म पनि पुगेको उनले खुलाए-

“परिवारसंग त्यसपछि समय बिताए र धेरै पछि त्यो समय पाए, धेरै दबाब परिवारमा पनि आएको थियो, कति जनाले परिवारलाई पनि भार दिनु भएको थियो, जुन कुरा मसंग भएको थियो त्यो कुरा त्यहाँसम्म नपुग्नु पर्ने, त्यो मिस-अन्डरस्ट्याण्डिंग थियो”

खेलाडीको रुपमा आफ्नो स्वभावलाई समर्थकहरुले स्वीकार गर्नुपर्ने र आफुले सधै शत-प्रतिशत दिएर खेलेको बिश्वास गर्न समेत उनले दिलाए-

“गेममा हार-जित हुन्छ, बिबाद हुन्छ, आक्रामक हुन्छ, सबै प्लेयर एउटै जस्तो हुन सक्दैन, मेरो एग्रेसन अर्कै हुन सक्छ, मेरो स्वभाव छुट्टै हुन सक्छ, कसैलाई सकारात्मक रवैया देखिन्छ होला कसैलाई नकारात्मक देखिन्छ होला , बिश्वास गर्नुस मैले शत प्रतिशत दिएर खेलेको छु, चाहे देशको लागि होस् या लिगको खेल होस् र मैले सायद, प्रमाणित गर्नु पर्छ या गर्दैन, म त्यस्तो छैन”

पिपिएल बिबाद पछि मिडियाहरुले हतार गरेर भन्दा आफ्नो धारणा समेत बुझेर लेखेको भए हुन्थ्यो भने धारणा समेत उनले ब्यक्त गरे-

“जुन २ जनाको बीच कुरा भाको थियो मेरो र अम्पायरको बीचमा, त्यो डिस्कस, डिस्कस भन्दा पनि मेरो जुन कुरा भएको थियो अम्पायरसंग, त्यो कुरा चै बरु एक्सक्लुसिभ भन्दा पनि वहाँहरुले सबै कुरा बुझेर लेख्नु भएको भए अझै राम्रो हुन्थ्यो”

आइतबार टि-१० लिग खेल्न युएई प्रस्थान गर्न लागेका सन्दिपले फ्यानहरुलाई माया निरन्तर गर्न आग्रह गर्दै नेपालको नाम चिनाउने प्रयास सधै गर्ने वाचा गरे-

“धेरै माया पाएको छु, जे पनि भयो मैले माफी मागी सके र आगामी दिनमा पनि माया गर्नु होला, सधै देशलाई प्राउड बनाउने सोचीरहेको हुन्छु र नेपालको नाम चिनाउने छु”

यही नोभेम्बर २१ तारिक देखि सुरु हुने टि-१० लिगमा सन्दिप केरला किंग्सबाट खेल्नेछन्। गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो। किंग्सले २१ तारिकमा शहिद अफ्रिदी आइकन खेलाडी रहेको पख्तुनको सामना गर्नेछ।

सन्दिपको टिम केरला किंग्समा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन्। यस्तै टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन्।

टि-१० लिगमा सहभागी भएपछि सन्दिप डिसेम्बर ८ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-२० खेल्न आउने छन्। इपिएलमा सन्दिप ललितपुर प्याट्रीएट्स टिममा रहेका छन्।

डिसेम्बर १९ देखि फेब्रुवरी १७ सम्म चल्ने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास पनि सुरु हुने हुँदा इपिएलमा सन्दिपले पहिलो २ वटा खेल मात्रै खेल्न भ्याउने सन्दिपले जानकारी गराएका छन्। सन्दिप बिग ब्यास लिगमा मेलबर्न मेलबर्न स्टारको लागि तथा बंगलादेश प्रिमियर लिगमा स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने आगामी संस्करणमा पनि दिल्लीले सन्दिपको सम्झौता नवीकरण गरिसकेको छ। नवीकरण पछि दिल्लीले केहि प्रतिशतमात्र रकम वृद्धि गर्नसक्ने सन्दिपले बताएका छन्।

क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६० हजार डलर पाउने बताईएको छ।

आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]