ईपिएल बिगारेर पीपीएलको प्रमोसन गरेको हैन भन्दै पारसको ईपिएल प्रति असन्तुष्टि

२०७५ पुष ८, आईतवार ११:२६

  • विकेटनेपाल, पुष-८ , आइतबार 

राष्ट्रिय क्रिकेट टिम कप्तान तथा एभरेस्ट प्रिमियर लिग ईपिएल टि-२० मा विराटनगर वारियर्सका पारस खड्काले ईपिएल फाइनल सकिने बितिकै शनिवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे असन्तुष्टि पोखेका छन्।

ईपिएलको फाइनल हेर्न टियु मैदान पुगेका पारसले पुरस्कार वितरण सकिएपछि ईपिएल सबैभन्दा ठुलो प्रतियोगिता भन्ने आयोजकको दाबिमा प्रश्न चिन्ह खडा गरेका हुन्।

“प्रतियोगिता सुरु हुनुपूर्व सर्वाधिक ठूलो भनिएको थियो, विजेता राशि धेरै भएको भए हुन्थ्यो। थोरै निराश छु किनकि अझ धेरै रकम र खेलाडीहरुको लागि अझ राम्रो पुरस्कार अपेक्षा गरेको थिए। २५ लाख यो स्तरको प्रतियोगिताको लागि निकै थोरै हो।”

प्रतियोगिताको आयोजक एभरेस्ट प्रिमियर लिग प्राइभेट लिमिटेडले लिग चरणको खेल सकिंदा पुष २ गते मात्रै आयोजकले २५ लाख विजेता राशि घोषणा गरेको थियो। यस अघि पारस खड्का र राष्ट्रिय टिमका उप-कप्तान ज्ञानेन्द्र मल्ल आफै आयोजक रहेको पोखरा प्रिमियर लिगमा विजेता राशि २७ लाख राखिएको थियो।

पोखरा प्रिमियर लिग आयोजना गरेकोले ईपिएल बिगार्न खोजेको हैन     

पारसले पोखरा प्रिमियर लिगको आयोजना गरेपछि ईपिएल बिगार्न खोजेको हल्ला चलिरहेको कुरालाई गलत रहेको बताएका छन्।

“यस्तो हल्ला चलिरहेको छ कि पारसले पीपीएल आयोजना गरेपछि ईपिएल बिगार्न खोज्दै छ भन्ने जुन कुरा सुन्दा दुख लाग्छ”

“म सधै इमान्दार व्यक्ति रहँदै आएको छु र मैले या मेरो टिमले कहिले पनि त्यस्तो सोचेको छैनौ कि ईपिएललाई बिगारेर पीपीएल र डिपिएलको प्रबर्धन गरेको”

ईपिएलको आलोचना सहित पारसले प्रतियोगिताको तारिफ गर्दै प्रतियोगिताले नेपाली क्रिकेटमा एउटा राम्रो स्तर तयार गरेको बताए।

“अहिलेको लागि एभरेस्ट प्रिमियर लिगनै सबै भन्दा ठुलो प्राइभेट लिग हो त्यसमा कुनै सन्देह छैन।”

“ईपिएलले एउटा क्रिकेट आयोजनाको रुपमा एउटा स्तर बनाएको छ , तर मैदान बाहिर अझ राम्रो हुन सक्थ्यो। अन्त्यमा म आयोजकको तारिफ गर्न चाहन्छु। सजिलो छैन यो स्तरको प्रतियोगिता गर्नको लागि”

परिवार र प्रशिक्षकसंगको घटना 

“१५ बर्ष देखि किर्तिपुर भनेको कर्मभुमि हो, जब कोहि पनि आउदैन मेरो परिवार खेल हेर्न आउनुहुन्थ्यो। तर जे भयो नराम्रो भयो।”

पारसले प्रतियोगिताको दौरान आफ्नो परिवार, प्रशिक्षक र टिमसंग घटना भएको कुरा जोडे पनि घटनाबारे विस्तृतमा खुलाउन भने चाहेनन्। विकेटनेपाललाई जानकारी भए अनुसार डिसेम्बर १२ तारिकमा भएको बिराटनगर वारियर्स र भैरहवा ग्ल्याडीएटर्सको खेलको दिन खेल खेल हेर्न पुगेकी पारस पत्नी प्राप्ति राज्य लक्ष्मी राणा र आयोजक सदस्य बीच विवाद भएको थियो। प्राप्तिले आफ्नो फेसबुकमा ईपिएल व्यबस्थापनको आलोचना गर्दै आफ्नो परिवार र आफुलाई आयोजकबाट दुर्व्यबहार भएको लेखेकी थिईन्।

https://youtu.be/6JL8jUZuzQI

ईपिएलमा आफ्नो प्रदर्शन खराब भएको स्वीकार 

प्रतियोगितामा आफ्नो टिमको र आफ्नो ब्याटिंग अत्यन्त खराब रहेको पारसले स्वीकारे। खड्काले प्रतियोगिताको ५ खेलमा कुल ५० रन बनाउदा काठमाडौँ किंग्स-११ संग सर्वाधिक २१ रन बनाएका थिए।

“हामीले पराजित गरेको टिमले परतियोगितानै जित्यो जुन अहिलेको लागि हामीले सकारात्मक मान्नुपर्ने एउटा मात्रै कुरा हो। हामीले निकै खराब खेल्यौं , म लगायत सबै बिराटनगरको ब्याटिंग खराब रह्यो।”

“५ खेलमा ५० रन हानेपछि मैले अरुबाट प्रतियोगिता जित्ने आशा राख्दिन। आशा गर्छु आगामी प्रतियोगितामा आफ्नो तर्फबाट व्यक्तिगत प्रदर्शन सुधारेर अगाडी बढ्न खोज्छु”

पारसको टिम बिराटनगर अघिल्लो संस्करणको ईपिएलको विजेता भए पनि यो पटक लिग चरणमा २ खेलमा जित र ३ खेलमा हार बेहोर्दै दोश्रो चरण प्रवेश गर्न असफल भएको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy