एमएम कप: रुपेश कुर्मीले ५ विकेट लिंदा प्रदेश ५ संग भारतीय क्लब पराजित

२०७५ पुष ३०, सोमबार १९:४०

  • विकेटनेपाल – ३० पौष, सोमबार

सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा प्रदेश नम्बर ५ ले भारतीय क्रिकेट क्लब सुपौललाई २३ रनले पराजित गर्दै बिजयी सुरुवात गरेको छ।

प्रदेश नम्बर ५ ले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारतीय क्लब अन्तिम ओभरको पहिलो बलमा सबै विकेट गुमाएर २३० रनमा समेटियो। उसका लागि जयचन्द यादवले ४० रनको पारी खेलेका थिए। त्यसैगरी राजेश सिङले ३९ रन जोड्दा उत्कर्श भास्करले ३७ र रिन्कु सिंहावतले ३४ रन बनाए।

प्रदेश नम्बर ५ लाई जित दिलाउन तिब्र गतिका युवा बलर रुपेश कुर्मीले ५ विकेट हात पारे। २९ रन खर्चिएका उनले ७.१ ओभर बलिंग गरेका थिए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ५ ले २५३ रनको योगफल बनाउँदा अन्तिम ४ बल बाँकी छदै सबै विकेट गुमाएको थियो। प्रदेश ५ का विकेट किपर ब्याट्सम्यान प्रकाश केसीले ४६ रनको पारी खेल्दा सुबेन्दु पाण्डेले ४०, कृष्ण कार्कीले ३८ र कप्तान सन्दिप सुनारले ३० रन बनाएका थिए।

बलिंगतर्फ भारतको क्लबका लागि सिवान्सी राजा, इन्द्रजित पोद्दार र मयंक पमनानीले समान ३/३ विकेट लिएका थिए।

खेलमा उत्कृस्ट प्रदर्शन गर्दै ५ विकेट लिएका रुपेश कुर्मी प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिता अन्तर्गत मंगलवार प्रदेश नम्वर ७ र प्रदेश नम्वर ५ बिच खेल हुनेछ।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy