सोमपालको टिम धनगढी स्टार्सलाई ग्लोबलको साथ

२०७५ माघ ७, सोमबार १९:३७

– विकेटनेपाल, माघ-७ , सोमबार 

रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन गरेको छ।

घरेलु टोली धनगढी र कलेजबीच सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच मुख्य प्रायोजन सम्झौता भयो। सम्झौता पत्रमा टोलीका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत(सिइयो) खगेन्द्र ओझाले हस्ताक्षर गरे।

सम्झौता अनुसार मुख्य प्रायोजन वापत ग्लोबल कलेजले २० लाख बराबरको नगद तथा अन्य सहयोग गर्नेछ। सम्झौता आदानप्रदान पछि मन्तव्य राख्दै ग्लोबल कलेजका सिइयो खगेन्द्र जोशीले नेपालमा अन्य क्षेत्रमा निराशाजनक स्थिती रहेपनि क्रिकेटले आशा देखाएका कारण क्रिकेट वातावरण निर्माण गर्न लगानी गरेको बताए।

‘कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरेको हो,’ ओझाले भने, ‘नेपाली क्रिकेटले पछिल्लो समय राम्रो सम्भावना देखाएको छ। धनगढी क्रिकेटमा उदयमान रहेकाले हामीले खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गरेका हौं।’

आफू पनि धनगढीकै मान्छे भएको उल्लेख गर्दै ओझाले होम टाउनको टोलीसँग आवद्ध हुनपाउँदा खुशी महशुस भएको बताए-

‘म आफैपनि धनगढीमा जन्मेहुर्केको हुँ,’ ओझाले भने, ‘घरेलु टोलीलाई जितको शुभकामना पनि दिन चाहन्छु।’

यस्तै टोलीका मालिक कृष्ण वोहराले यसवर्ष आफूहरुले टोलीको स्वामित्व लिन पाएकोमा खुशी व्यक्त गर्दै आफूसँग जोडिन आएकोमा ग्लोबल कलेजलाई धन्यवाद दिए ‘हामी पहिलेदेखि नै क्रिकेट विकासमा योगदान दिन चाहान्थ्यौं,’ उनले भने, ‘संयोगवश यसवर्षको डिपिएलमा हामीले घरेलु टोली नै हाक्ने जिम्मेवारी पाएका छौं। मुख्य प्रायोजनवापत हामीलाई प्रोत्साहन दिनुभएकोमा ग्लोबल कलेजलाई धन्यवाद दिन चाहन्छौं।’

यस्तै टोलीका कप्तान सोमपाल कामीले समेत मुख्य प्रायोजक ग्लोबल कलेजलाई धन्यवाद दिए-  ‘ग्लोबलले हामीलाई विश्वास गर्दै मुख्य प्रायोजन गरेको छ। अहिलै ट्रफी जितेर ल्याउँछौं भनेर त भन्दैनौं तर उहाँहरुको लगानीको प्रतिफल भने मैदानबाट शतप्रतिशत दिनेछौं।’

साथै सोमपालले आफूहरुले डिपिएल सुरु हुनु दश दिन अघि देखि बन्द प्रशिक्षण राख्ने तयारी गरेको बताए। ‘हामीले प्रशिक्षकमा मनोज कटुवाललाई नियुक्त गरिसकेका छौं, अहिले नेपालको यूएई भ्रमण लगायत घरेलु प्रतियोगितामा खेलाडीहरु व्यस्त छन्। हामीले डिपिएल सुरु हुनु दश दिन अघि धनगढीमै क्याम्प राख्ने योजना बनाएका छौं।’

माघ २६ बाट सुरु हुने रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा धनगढीसँगै, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरि ६ टोलीको सहभागिता रहेको छ।

यसअघि भएका दुई संस्करणको उपाधि घरेलु टोली टिम चौराह धनगढीले जितेको थियो। तर यस संस्करणबाट भने टोलीको नाम र स्वामित्व परिवर्तन हुदैँ धनगढी स्टार्स भएको छ।

धनगढी स्टार्समा सोमपालसँगै पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, धिरज शाही, कृष्ण ऐर र सन्दीप रिजाली रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy