नेत्रहीन महिला क्रिकेट: चौथो खेलमा नेपालसंग पाकिस्तान ९ विकेटले पराजित

२०७५ माघ २०, आईतवार २२:४७

  • विकेटनेपाल, माघ २० – आइतबार

पाकिस्तानको भ्रमणमा रहेको नेत्रहीन महिला क्रिकेट टिमले चौथो अन्तर्राष्ट्रिय टि२० खेलमा ९ विकेटको जित निकालेको छ।

यो सँगै नेपालले ५ खेलको सिरिजमा ३-० को अग्रता लियो। नेपालले पहिलो र तेस्रो टि-२० खेल १०/१० विकेटको फराकिलो अन्तरले जितेको थियो भने दोश्रो खेल बर्षाले रद्द भएको थियो।

इस्लामावादमा भएको चौथो खेलमा नेपालले घरेलु टिम पाकिस्तानले दिएको १०२ रनको लक्ष्य मात्र १ विकेट गुमाएर ८.५ ओभरमा पुरा गरेको थियो। नेपालको लागि बिमला राईले सर्बाधिक ४२ रन बनाईन। मात्र १५ बलको सामना गर्दै विस्फोटक ब्याटिंग गरेकी उनले ९ चौका समेत प्रहार गरेकी थिईन।

यस्तै अर्की ओपनर तथा तेस्रो टि-२० खेलमा नेत्रहिन महिला अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी मनकेशरी चौधरीले १३ बलमा ५ चौका सहित २५ रन तथा मुना अर्यालले २८ बलमा १ चौका सहित अविजित २२ रन प्रहार गरिन।

मुना अर्याल नेत्रहीन महिला अन्तर्राष्ट्रिय क्रिकेटमा चौका प्रहार गर्ने पहिलो ‘बि वान’ समूह कि खेलाडी बनिन्। ‘बि वान’ समूहमा पूर्ण रुपमा आँखाले देख्न नसक्ने खेलाडी पर्ने गर्दछन जसले चौका वा छक्का प्रहार गर्दा दोब्बर रन गणना गर्ने गरिन्छ।

यसअघि इस्लामावादको शालिमार क्रिकेट ग्राउण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टिमले सिरिजमा पहिलोपल्ट पुरै २० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो। ४ खेलाडी रनआउट भएको पाकिस्तानको पारीमा किरन रफिकले सर्वाधिक १६ रन बनाउँदा ओपनर तयावा फतिमाले १३ रन जोडिन्।

नेपालको लागि कप्तान विनिता राई, मुना अर्याल र आयुष्मा क्षेत्रीले १/१ विकेट लिए।

नियमित कप्तान भगवती भट्टराई, गीता पौडेल र हिता गुरुङलाई आराम दिएको खेलमा आयुष्मा क्षेत्री, सुस्मा तामाङ र आशिगा डगौराले रास्ट्रीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। कप्तानीको जिम्मेवारी भने विनिता राईको काँधमा रह्यो।

बिमला राई

खेलमा नेपालको लागि सर्वाधिक ४२ रन बनाएकी विमला राई प्लेअर अफ दि म्याच घोषित भइन्। उनले १५ हजार पाकिस्तानी रुपैयाँ र ट्रफी हात पारिन्। यस्तै १ विकेट लिएकी तथा २२ रन बनाएकी मुना भ्यालुएबल प्लेअर भइन्। उनले ५ हजार प्राप्त गरिन्।

(Photo: Govinda Raj Nepal/NSJF)

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy