दिल्लीसंग कोहलीको बैंगलोरको छैठौं हार, सन्दिपको आईपीएलमा सबैभन्दा महँगो स्पेल

२०७५ चैत्र २४, आईतवार १९:३९

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आफ्नो छैठौं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गरेको छ।

जितसंगै दिल्ली अंकतालिकामा ६ खेलमा ३ जित र ३ हार बेहोर्दै पाँचौ स्थानमा उक्लेको छ। बैंगलोर भने ६ खेलमा ६ वटै हारको साथ अन्तिम स्थानमा रहेको छ। चेन्नाई पहिलो, हैदराबाद दोश्रो, कोलकाता तेश्रो र मुम्बई चौथो स्थानमा रहेको छ।

खेलमा बैंगलोरले पहिले ब्याटिंग गर्दै दिएको १५० रनको लक्ष्य दिल्लीले ६ विकेट गुमाएर १८.५ ओभरमा पुरा गरेको हो।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ५० बलमा २ छक्का र ८ चौका प्रहार गरे। ऐयरले प्रिथ्भी शासंग ६८ रनको, कोलिन इन्ग्रामसंग ३९ रनको तथा रिशभ पन्तसंग ३७ रनको साझेदारी गरे। प्रिथ्भीले २८, इन्ग्रामले २२ तथा रिशभ पन्तले १८ रन बनाए।

रबाडाको उत्कृस्ट बलिङ्ग 

बैंगलोरको घरेलु मैदान चिन्न्स्वामी स्टेडियममा टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा ३३ बलमा २ छक्का र १ चौका प्रहार गरे। यस्तै मोईन अलिले ३२ ( १८ बलमा १ चौका र ३ छक्का ) प्रहार गरे। ए बि डी भिल्लियर्सले १७ रन , अक्षदिप नाथले १९ रन तथा मार्कस स्टोइनिसले १५ रन योगदान दिए।

कोहलीले डीभिल्लीयर्ससंग २४ रन, स्टोइनिससंग २६ रन तथा मोइन अलिसंग ३७ रन तथा अक्षदिप नाथसंग ३० रनको साझेदारी गरे।

१७ ओभरमा १३३/४ को अवस्थामा रहेको बैंगलोरलाई १४९ रनमा सिमित गर्ने क्रममा दिल्ली बलर कागीसो रबाडाले ४ विकेट लिए। त्यस क्रममा उनले १८ औं ओभर बलिङ्ग गर्ने क्रममा ३ विकेट लिएका थिए र कोहली, अक्षदिप र पवन नेगीको विकेट हात पारे। क्रिस मोरिसले २ ( ४-०-२८-२ ) विकेट लिंदा अक्षर पटेल ( ४-०-२२-१ ) र सन्दिप लामिछानेले ( ४-०-४६-१ ) १/१ विकेट लिए।

सन्दिपको आईपीएलमा सबैभन्दा महँगो बलिंग 

दिल्लीको लागि सिजनको चौथो खेल खेल्ने क्रममा सन्दिप सबैभन्दा महँगो सावित भए। ४ ओभरमा ४६ रन खर्चिएका सन्दिपले आईपीएलमा कुल ७ खेल खेल्ने क्रममा गरेको यो सबैभन्दा महँगो स्पेल हो भने समग्रमा दोश्रो।

यस अघि गत सिजन मुम्बई इन्डीएन्स बिरुद्ध खेल्ने क्रममा ४ ओभर बलिंग गर्दा सन्दिपले ३६ रन खर्चिएका थिए। ३ विकेट लिए पनि प्रति ओभर ९ रन खर्चिएका सन्दिपको त्योनै महँगो स्पेल थियो।

अन्तर्राष्ट्रिय टि-२० लिगहरुमा सन्दिपको सबैभन्दा महँगो स्पेल ४ ओभरमा ५७ रन दिएर १ विकेट थियो जुन गत वर्ष क्यानडा ग्लोबल टि-२० लिग खेल्दा वेस्ट इन्डिज बि बिरुद्ध थियो।

पाकिस्तान सुपर लिगमा यसै वर्ष मुल्तान सुल्तान बिरुद्ध खेल्ने क्रममा सन्दिपले ३ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिएका थिए। सोहि प्रतियोगितामा इश्लामाबाद युनाइटेड बिरुद्ध पनि १ विकेट लिंदा सन्दिपले ४ ओभरमा ४६ रननै खर्चिएका थिए।

यस्तो रह्यो सन्दिपको बलिंग 

पहिलो ओभर – १० रन ( ६ , ० , १ , १ , १ , १ ) 

खेलमा सन्दिप दशौँ ओभरमा आफ्नो पहिलो ओभर बलिंग गर्न आएका थिए। ओभरको पहिलो बलमा मार्कस स्टोईनिसले छक्का हिर्काए पछि सन्दिपले कसिलो बलिंग गरेका थिए। ओभरमा सन्दिपको २ बल बिराट कोहलीले सामना गरेका थिए जुन क्रममा २ बलमा २ वटा सिंगल रन लिए।

दोश्रो ओभर – ६ रन ( १ , १ , १ , १ , १ , १ ) 

१२ औं ओभरमा दोश्रो ओभर बलिंग गर्ने क्रममा कसिलो बलिंग गरेका सन्दिपको ६ वटा बलमा मोइन अलि र बिराट कोहलीले ३/३ वटा सिंगल रन लिए।

तेश्रो ओभर – ११ रन , १ विकेट ( ६ , ० , विकेट , ४ , ० , १ ) 

१५ औं ओभरमा बलिंग गर्ने क्रममा सन्दिपलाई मोईन अलिले पहिलो बलमै छक्का प्रहार गरे। त्यसपछि तेश्रो बलमा पनि आक्रामक सट खेल्ने क्रममा अलि स्टम्प हुन पुगे र सन्दिपले पहिलो विकेट हात पारे। विकेट लगत्तैको बलमा अक्षदिप नाथले सन्दिपलाई चौका प्रहार गरे।

 

चौथो ओभर –  १९ रन ( १ , ४ , १ , ६ , ६ , १ ) 

१७ औं ओभरमा आफ्नो अन्तिम ओभर बलिंग गरेका सन्दिपले १९ रन खर्चिए। ओभरको दोश्रो बलमा अक्षदिप नाथले चौका प्रहार गरे पछि चौथो र पाँचौ बलमा कोहलीले लगातार २ छक्का प्रहार गरे।

४ ओभरमा ४६ रन दिएर सन्दिपले १ विकेट लिए। १ विकेट संगै जारि सिजनमा सन्दिपले ४ खेलमा ५ विकेट लिएका छन्। कोलकाता बिरुद्ध १ विकेट लिएका सन्दिपले पन्जाब बिरुद्ध २ तथा हैदराबाद बिरुद्ध १ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy