चेन्नाईसंग हार्यो कोलकाता, ताहिर, रैना र जडेजाको महत्वपूर्ण प्रदर्शन

२०७६ बैशाख १, आईतवार २०:५२

इन्डियन प्रिमियर लिग अन्तर्गत २९ औं खेलमा चेन्नाई सुपर किंग्सले उत्कृस्ट लयलाई कायम राख्ने क्रममा कोलकाता नाइट राईडर्सलाई ५ विकेटले पराजित गरेको छ।

जितसंगै चेन्नाईले अंक तालिकाको शिर्ष स्थानमा कायम रहेको छ जसले ८ खेलमा ७ जित र १ हार बेहोरेको छ। हार पछि पनि दोश्रो स्थानमा रहेको कोलकाताले ८ खेलमा ४/४ जित र हार बेहोरेको छ र ८ अंक रहेको छ। मुम्बई, दिल्ली र पन्जाबको पनि ८ अंकनै रहे पनि नेट रनरेटमा क्रमश तेश्रो चौथो र पाँचौ स्थानमा रहेको छ।

कोलकाताको घरेलु मैदान इडन गार्डेनमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै कोलकाताले दिएको १६२ रनको लक्ष्य चेन्नाईले २ बल बाँकी छदा पुरा गर्यो।

रैना र जडेजाको जोडी चम्किए 

१६२ रन लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो। ओपनर शेन वाटसन ६ रन, फाफ डु प्लेसिस २४ रन, अम्बाती रायडु ५ रन तथा केदार जाधभ २० रन बनाएर आउट भए।

एक किनारमा विकेट गुमे पनि तेश्रो नम्बरमा ब्याटिंग गरेका सुरेश रैनाले एक किनार सम्हालीरहे। रैनाले पाँचौ विकेटको लागि कप्तान महेन्द्र सिंह धोनीसंग ४० रनको साझेदारी गरे। धोनी १६ रन बनाएर १६ औं ओभरमा आउट भए।

धोनी आउट हुँदा चेन्नाईलाई जितको लागि २६ बलमा ४१ रनको आवस्यकता थियो। सुनिल नारायणले कसिलो बलिङ्ग गर्दा चेन्नाईलाई अन्तिम २ ओभरमा २४ रन आवस्यक रहेको थियो।

ह्यारी गुर्नेले गरेको १९ औं ओभरमा रभिन्द्र जडेजाले लगातार ३ चौका प्रहार गरेपछि चेन्नाईको जित सहज भएको थियो। उक्त ओभरमा १६ रन बन्दा जितको लागि अन्तिम ओभरमा ८ रन आवस्यक थियो।

अन्तिम ओभरमा बलिङ्ग गर्न आएका पियुश चावलाको पहिलो बलमा जडेजाले चौका प्रहार गरे। दोश्रो बलमा जडेजाले १ रन , तेश्रो बलमा रैनाले १ रन लिए पछि चौथो बलमा जडेजाले २ रन प्रहार गर्दै जित दिलाए।

जडेजाले अविजित ३१ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका प्रहार गरे। यस्तै रैनाले अविजित ५८ रन बनाउन ४२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। दुवैले छैठौं विकेटको लागि ४१ रनको साझेदारी गर्दै जितमा अहम योगदान दिए।

कोलकाता बलर सुनिल नारायण ( ४-१-१९-२ ) र पियुश चावला ( ३.४-०-३२-२ ) ले २/२ विकेट लिए।

ताहिरको उत्कृस्ट स्पेल 

पहिले ब्याटिंग गर्ने क्रममा कोलकाता ओपनर क्रिस लिनले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ५१ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।

लिन बाहेक अन्य ब्याट्सम्यानहरुले ठुलो योगदान दिन सकेनन्। सुनिल नारायण २ रन, नितिश राना २१ रन , रोबिन उठाप्पा ० , दिनेश कार्तिक १८ रन, आन्द्रे रसेल १० रन तथा शुब्मन गिल १५ रन बनाएर आउट भए।

चेन्नाईको लागि बलिङ्गमा लेग स्पिनर इमरान ताहिरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। प्लेयर अफ द म्याच चुनिएका उनले लिन, राना, उथप्पा र रसेलको विकेट लिए। शार्दुल ठाकुरले ( ४-०-१८-२ ) २ विकेट लिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy