प्रधानमन्त्री कप अब नयाँ मितिमा, खेल्दैछन् पारस खड्का

२०७६ जेष्ठ ४, शनिबार २०:५५

  • विकेटनेपाल, जेठ-४ , शनिवार 

तेश्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मिति तेश्रो पटक पनि सरेको छ। जेठ १ गते हुने भनिएको प्रतियोगिता जेठ ८ गते सारिएको थियो। अब प्रतियोगिता २ दिन पछि जेठ १० गते देखि जेठ २५ गतेसम्म आयोजना हुनेछ।

प्रतियोगिता किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् जहाँ ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।

राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को आयोजना तथा नेपालय इन्टरनेसनलले व्यवस्थापन गर्ने प्रतियोगिताको नयाँ मिति, मुख्य प्रायोजक, जर्सी र खेलतालिका समेत सार्वजनिक गरिएको छ।

एक्स्पर्ट मुख्य प्रायोजक 

प्रतियोगितालाई एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले मुख्य प्रायोजन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपालय इन्टरनेसनलका अध्यक्ष सुवासचन्द्र प्रधान र एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका काठमाडौं निर्देशक खेम संग्रौलाले हस्ताक्षर गरेका हुन्। सम्झौता रकमका बारेमा भने केही बताइएको छैन।

यसअघि राखेप र नेपालयबीच प्रतियोगिताको बजेट १ करोड ७५ लाख रहने र त्यसमध्ये ८० लाख राखेपले र बाँकी रकम नेपालयले व्यवस्था गर्ने सम्झौता भएको थियो। प्रतियोगिताको दोस्रो संस्करणबाट नेपालयले प्रतियोगिताको व्यस्थापनको जिम्मेवारी पाएको थियो । पहिलो संस्करणको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय क्रिकेटर ज्ञानेन्द्र मल्लको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले पाएको थियो।

खेल तालिका र समुह बिभाजन 

प्रतियोगितामा सहभागी हुने १० टोलिलाई २ वटा समुहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा साबिक विजेता एपिएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्। मूलपानीमा हुने उद्घाटन खेलमा प्रदेश २ ले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। फाइनल भने त्रिवि मैदानमा हुनेछ।

पुरस्कार राशि 

प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले छक्का हानेको बल १ हातले समाते ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।

मिति सर्नुको कारण यस्तो 

यसअघि प्रतियोगिता जेठ १ गते सुरु हुने भनिए पनि तयारी पूरा नभएको भन्दै जेठ ८ का लागि सारिएको थियो । प्रतियोगिताको उद्घाटन खेल मूलपानी क्रिकेट मैदानको तल्लो मैदानमा गर्न लागिएको र मैदानको पिच १० गते सम्म तयार हुने प्राविधिकले जनाएपछि प्रतियोगिताको मिति २ दिन पछि सारिएको राखेपका सदस्य केशवकुमार विष्टले बताए ।

“हामीले प्राविधिकको सल्लाहमा प्रतियोगिताको मिति दुई दिनपछि सारेका हौँ, मूलपानी क्रिकेट मैदानको प्रचारका लागि पनि हामीले तल्लो मैदानमा प्रतियोगिता आयोजना गर्ने लागेका हौँ। माथिल्लो मैदान यसअघिनै सञ्चालनमा आइसकेको छ र विभिन्न प्रतियोगिताहरु भैरहेका छन्।’

पारस खड्का प्रदेश-३ बाट खेल्ने 

प्रधानमन्त्रि कप प्रतियोगिताको यस अघिको २ वटै संस्करण नखेलेका राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका पारस खड्काले प्रधानमन्त्रि कपमा प्रदेश-३ बाट खेल्ने भएका छन्। पारससंगै राष्ट्रिय टिमका उप-कप्तान ज्ञानेन्द्र मल्ल पनि प्रदेश-३ बाट खेल्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

राष्ट्रिय खेलकुद परिषदले प्रधानमन्त्री कप नखेले स्टार राष्ट्रिय खेलाडीहरुलाई स्पस्टिकरण सोध्ने बताएको थियो।

सन् २०१३ को राष्ट्रिय प्रतियोगितामा एपीएफका तत्कालिन कप्तान पारस खड्का र आर्मीका कप्तान बिनोद भण्डारी ( फोटो – रमन शिवाकोटी ) 

पत्रकार सम्मेलनमा उपस्थित रहेका पारसले प्रदेश-३ को जर्सी सार्वजनिक गरेका थिए। यस अघि पारसले घरेलु राष्ट्रिय प्रतियोगितामा शशस्त्र प्रहरी बल एपीएफको प्रतिनिधित्व गरेका थिए र कप्तानी समेत गरेका थिए।

सन् २०११ देखि पारस र ज्ञानेन्द्र एपीएफ क्लबबाट खेलेका थिए जस अघि दुवै घरेलु राष्ट्रिय प्रतियोगितामा क्षेत्र नम्बर-३ बाट खेल्दै आएका थिए।

राजधानीमा आयोजित कार्यक्रममा शशस्त्र प्रहरी बलको तर्फबाट पृथु बास्कोटा, नेपाल पुलिस क्लबको तर्फबाट कप्तान मन्जित श्रेष्ठ तथा आर्मी क्लबका कप्तान बिनोद भण्डारीले आफ्नो टिमको जर्सी समेत सार्वजनिक गरेका थिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy