आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ३८ औं खेलमा आयोजक इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ।
विश्वकप क्रिकेट प्रतियोगितामा अन्तिम पटक इंग्ल्याण्डले भारतलाई १९९२ मा पराजित गरेको थियो। त्यसपछि १९९९, २००३ मा भारत विजयी हुँदा २०११ मा खेल बराबरीमा टुंगिएको थियो।
पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३०६ रन मात्रै बनाउन सक्यो।
पराजित भए संगै भारतको विश्वकपमा अपराजित यात्रा टुंगिएको छ भने इंग्ल्याण्डले सेमीफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। इंग्ल्याण्डको जितले पाकिस्तानलाई भने सेमीफाइनल पुग्न थोरै मुस्किल बढाएको छ। इंग्ल्याण्डको जितले श्रीलंकाको सेमीफाइनल सम्भावनाको अन्त्य भएको छ।
जितसंगै इंग्ल्याण्ड पाकिस्तानलाई उछिन्दै अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। १ खेल खेल्न बाँकी रहंदा इंग्ल्याण्डको ८ खेलमा ५ जित र ३ हार सहित १० अंक पुगेको छ। पाकिस्तानको पनि १ खेल खेल्न बाँकी रहंदा ९ अंक रहेको छ।

पाकिस्तानको अन्तिम खेल बंगलादेशसंग जुलाई ५ मा रहेको छ भने इंग्ल्याण्डले जुलाई ३ मा न्युजिल्याण्डसंग खेल्नेछ।
सेमीफाइनल पुग्न पाकिस्तानले बंगलादेशलाई पराजित गर्नुपर्नेछ भने इंग्ल्याण्डको हारको तथा बंगलादेशले खेल्ने भारतसंगको खेल पनि हारको कामना गर्नुपर्नेछ।
इंग्ल्याण्डले भने अन्तिम खेलमा न्युजिल्याण्डलाई पराजित गरेमा सेमीफाइनलमा स्थान पक्का गर्नेछ।
England beat India by 31 runs
1)Sri Lanka have no chance of qualifying for the SF
2)Pakistan have to win their final game & hope England don’t beat NZ
3)Bangladesh need to win remaining 2 & hope NZ beat England
4)NZ win they qualify
5)India win they qualify#ENGvIND #INDvENG— Sarang Bhalerao (@bhaleraosarang) June 30, 2019
बंगलादेशको पनि सेमीफाइनल सम्भावना जिवितै रहेको छ। बंगलादेशले पाकिस्तान र भारतलाई पराजित गर्ने हो र त्यसको साथै न्युजिल्याण्डले इंग्ल्याण्डलाई पराजित गर्ने हो भने सेमीफाइनलमा स्थान बनाउनेछ। न्युजिल्याण्ड र भारत पनि सेमीफाइनल पुग्न एउटा जितको खोजिमा हुनेछ।
भारत भने ७ खेलमा ५ जित र १ हार सहित ११ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा यथावत रहेको छ। अब भारतले बंगलादेशसंग जुलाई २ मा तथा श्रीलंकासंग जुलाई ६ मा खेल्नेछ।
रोहितको शतकका बाबजुत जित्न सकेन भारत
लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर लोकेश राहुल ९ बल खेलेर खाता नखोली क्रिस वोक्सबाट तेश्रो ओभरमा आउट भए।
राहुलको विकेट पछि अर्का ओपनर रोहित शर्मा र कप्तान बिराट कोहलीले दोश्रो विकेटको लागि १४६ रनको साझेदारी गरे।
प्रतियोगितामा लगातार पाँचौ अर्धशतक पुरा गरेका कोहली पुनः अर्धशतकलाई शतकमा बदल्न असफल रहे। ७६ बलमा ७ चौका मद्दतले ६६ रन बनाएका कोहलीलाई लियाम प्लंकेटले क्याच आउट गराए।

कोहलीको विकेट पछि रोहित शर्माले शतक पुरा गरे लगत्तै विकेट गुमाउन पुगे। प्रतियोगितामा तेश्रो शतक बनाएका शर्मालाई वोक्सले क्याच आउट गराए जसले १०९ बलमा १५ चौका मद्दतले १०२ रन बनाए। यस अघि रोहितले दक्षिण अफ्रीकासंग १२२ र पाकिस्तानसंग १४० रन बनाएका थिए।

विश्वकपमा डेब्यु गरेका रिशभ पन्त पनि ३२ रन ( २९ बलमा ४ चौका ) बनाएर ३७ औं ओभरमा प्लंकेटबाट क्याच आउट भए। बाउन्ड्रीमा वोक्सले उत्कृस्ट क्याच गरे।

त्यसपछि हार्दिक पान्ड्या र महेन्द्र सिंह धोनीले इनिंग अघि बढाए। ४१ रनको साझेदारी गरेपछि हार्दिकलाई पनि प्लंकेटले क्याच आउट गराए जसले ३३ बलमा ४ चौका प्रहार गरे।
त्यसपछि धोनी र केदार जाधवले विकेट नगुमाई ब्याटिंग गरे पनि इंग्ल्याण्डले अनुशासित बलिंग गर्दा भारतले आक्रामक ब्याटिंग गर्न सकेन।
पुरै ५० ओभर ब्याटिंग गरे पनि भारतले ५ विकेट गुमाएर ३०६ रन मात्रै बनाउन सक्यो। धोनीले ३१ बलमा ४ चौका र १ छक्का मदतले ४२ रन बनाए भने जाधवले १२ रन बनाए।

इंग्ल्याण्डको बलिंगमा लियाम प्लंकेटले ३ विकेट ( १०-०-५५-३ ) लिए भने क्रिस वोक्सले २ विकेट ( १०-३-५८-२ ) लिए।
इंग्ल्याण्डको ब्याटिंग – बेयरस्टोको शतक र शामीको करियरकै उत्कृस्ट बलिंग
यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा घरेलु टिमले ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३३७ रन बनाएको थियो।
इंग्ल्याण्डको लागि जोन्नी बेयरस्टोले शतकीय इनिंग खेलेका थिए। यस क्रममा उनले १०९ बलमा १० चौका र ६ छक्का प्रहार गरे। ओपनर जेसन रोय संग उनले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरेका थिए। रोयले ६६ रन ( ५७ बलमा ७ चौका र २ छक्का ) बनाए।

जोए रुटले ४४ रन तथा बेन स्टोक्सले ७९ रन बनाए। स्टोक्सले ५४ बलमा ६ चौक र ३ छक्का तथा रुटले ५४ बलमा २ चौका प्रहार गरे।
भारतको बलिंगमा मोहम्मद शामीले एकदिवसीय करियरमै पहिलो पटक ५ विकेट ( १०-१-६९-५ ) लिए। जस्प्रित बुम्राह ( १०-१-४४-१ ) र कुलदिप यादब ( १०-०-७२-१ ) ले १/१ विकेट लिए।
प्रतियोगितामा भारतको यस अघिको नतिजा :-
बिरुद्ध वेस्ट इन्डिज – १२५ रनले विजयी
बिरुद्ध अफगानिस्तान – ११ रनले विजयी
बिरुद्ध पाकिस्तान – ८९ रनले विजयी ( डीएल मेथड )
बिरुद्ध न्युजिल्याण्ड – नतिजाविहिन ( वर्षा )
बिरुद्ध अस्ट्रेलिया – ३६ रनले विजयी
बिरुद्ध दक्षिण अफ्रीका – ६ विकेटले विजयी
प्रतियोगितामा यस अघि इंग्ल्याण्डको नतिजा :-
बिरुद्ध अस्ट्रेलिया – ६४ रनले पराजित
बिरुद्ध श्रीलंका – २० रनले पराजित
बिरुद्ध अफगानिस्तान – १५० रनले विजयी
बिरुद्ध वेस्टइन्डिज – ८ विकेटले विजयी
बिरुद्ध बंगलादेश – १०६ रनले विजयी
बिरुद्ध पाकिस्तान – १४ रनले पराजित
बिरुद्ध दक्षिण अफ्रीका – १०४ रनले विजयी
