अमेरिकाको प्रशिक्षकबाट पुबुदुको राजिनामा, कारण यस्तो

२०७६ असार २८, शनिबार १९:२३

अमेरिकी क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।

श्रीलंकन पुर्व क्रिकेटर दासानायके सन् २०११ देखि २०१५ सम्म ४ वर्ष नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए। त्यस अघि उनले क्यानडा राष्ट्रिय टिमको लागि खेलेका थिए भने प्रशिक्षण समेत गरेका थिए। नेपाली टिमको प्रशिक्षकबाट राजिनामा दिएपछि पुबुदु सन् २०१६ मा अमेरिकी क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए।

अमेरिकी क्रिकेट टिमलाई २०१६ मा डिभिजन-४ हुँदै यसै बर्ष अप्रिलमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यतासम्म पुबुदुले पुर्याएका थिए। त्यस अघि नेपाललाई पनि उनले २०१४ टि-२० विश्वकप छनौट गराएका थिए भने एकदिवसीय विश्वकप छनौट र विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्मको यात्रा गराएका थिए। सन् २०११ मा क्यानडा क्रिकेट टिमलाई समेत उनले विश्वकप छनौट गराएका थिए।

यस कारण दिए राजिनामा  

अमेरिका क्रिकेटले गत महिना जुनमा पुर्व भारतीय विकेटकिपर ब्याट्सम्यान किरन मोरेलाई निर्देशकको रुपमा नियुक्त गरेको थियो। उनिसंगै वेस्ट इन्डिजका पुर्व ब्याट्सम्यान काइरन पावेललाई हाई परफरमेन्स म्यानेजर, अर्का भारतीय क्रिकेटर तथा भारतीय अन्डर-१९ क्रिकेट टीमका पुर्व प्रशिक्षक प्रभिन आमरेलाई ब्याटिंग सल्लाहका, पुर्व भारतीय स्पिनर सुनिल जोशीलाई स्पिन सल्लाहकार, इंग्ल्याण्ड र अस्ट्रेलियाको बलिंग प्रशिक्षक रहीसकेका डेभिड साकरलाई फास्ट बलिंग सल्लाहकारको रुपमा र आईपीएलमा मुम्बई इन्डीएन्सको फिल्डिंग प्रशिक्षक रहेका जेम्स पामेन्टलाई फिल्डिंग सल्लाहकारको रुपमा नियुक्त गरेको थियो।

Kiran More

क्रिक्इन्फोले लेखे अनुसार अमेरिका क्रिकेट टिमको सफलताको बाबजुद पुबुदु दासानायकेको अमेरिका क्रिकेटसंगको सम्बन्ध अघिल्लो वर्ष देखि खराब हुँदै गएको थियो। त्यसको कारण अमेरिका क्रिकेट टिमको छनौटमा दासानायकेको प्रभाव हो।

अमेरिका क्रिकेटले विलो टिभी र भारतीय स्वामित्व राखेको अमेरिकन क्रिकेट इन्टरप्राइजेजसंग सम्झौता गरेपछि पुबुदु र बोर्डको सम्बन्ध झनै चिसिएको क्रिक्इन्फोले दावी गरेको छ। अमेरिकामा टि-२० लिग गराउने उद्देश्यका साथ् अमेरिका क्रिकेटललाई इन्टरप्राइजेजले १ बिलियन डलर लगानी गर्ने सम्झौता गत मेमा भएको थियो। सन् २०२१ सम्म अमेरिकामा ग्लोबल टि-२० लिग सुरु गर्ने उद्देश्य सहित सम्झौता गरिएको थियो।

उक्त सम्झौता पछि अमेरिकन क्रिकेट इन्टरप्राइजेजको बोर्ड सदस्यको दासानायके भूमिकाबारे फरक मत रहेको थियो। यस अघि टिम छनौटमा मुख्य भूमिका निभाउने पुबुदुको सट्टा अब छनौट किरन मोरेले गर्ने भएका थिए।

अमेरिकाको टि-२० विश्वकप छनौट खेल्ने टिम घोषणा जुनको अन्तिममा हुनु पर्ने थियो तर पुबुदु र मोरे बीच असहमति हुनाले छनौटमा ढिलाई भएको थियो। त्यसपछि पुबुदु टिम छनौट विवाद बारे कुरा गर्न अमेरिका क्रिकेटका पदाधिकारी सहित इंग्ल्याण्डमा आईसीसीका कार्यकारी अधिकृत इयान हिगीन्सलाई भेट्न पुगेका थिए। हिगीन्स विश्वकप पछि अमेरिका क्रिकेटको सीईओ नियुक्त हुँदैछन्।

Pubudu Dassanayake
Pubudu Dassanayake

त्यसपछि पनि विवाद साम्य हुन सकेन। पुबुदुको कन्ट्रयाक्ट मार्च २०१९ मा सकिएको थियो तर पछि अमेरिकाको विश्व क्रिकेट लिग डिभिजन-२ को नामिबिया टुरको लागि डिसेम्बर २०१९ सम्म लम्ब्याईएको थियो। सोहि अबधिमा अमेरिकाए एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता समेत पायो। अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट समेत ध्यानमा राखेर कन्ट्रयाक्ट लम्ब्याइएको थियो।

तर मेमा अमेरिकन क्रिकेट इन्टरप्राइजेज संगको सम्झौता पछि उनको कन्ट्रयाक्ट नबढ्ने निश्चित थियो। इन्टरप्राइजेज व्यवस्थापनले आफ्नै नेतृत्वमा राष्ट्रिय टिम अघि बढाउने मनसाय बनाएको थियो।

निर्देशक मोरे अब अमेरिका क्रिकेटमा शक्तिशाली व्यक्ति हुने बाटोमा छन्। श्रोतका अनुसार दासानायकेको प्रतिस्थापनको लागि गत हफ्तानै मिटिंग बसीसकेको छ र सुनील जोशी उनको स्थानमा मुख्य प्रशिक्षक हुने सम्भावना प्रवल रहेको छ।

अमेरिका क्रिकेटका अध्यक्ष पराग मराठेले पुबुदुलाई धन्यवाद दिंदै अमेरिका टिमको प्रशिक्षण सम्हाल्न अन्य उत्कृस्ट प्रशिक्षकहरुले चाहेको क्रिक्बजलाई बताएका छन् –

“एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निभाएका पुबुदुलाई धन्यवाद दिन चाहन्छु। उनि निकै योग्य प्रशिक्षक र व्यक्ति थिए जसले अमेरिका क्रिकेटलाई ठुलो योगदान दिएका छन्। उनले अमेरिका क्रिकेटलाई यो समय विदा गरेका छन् , हामि उनको भविष्यको लागि सुभकामना व्यक्ति गर्छौं।”

“हामि भाग्यमानी छौ कि अमेरिका क्रिकेटको प्रशिक्षण सम्हाल्न अन्य योग्य प्रशिक्षकहरु उत्सुक रहेका छन्। हामीले नियुक्त गरेको प्रशिक्षण सल्लाहकारहरु विश्वका उत्कृस्ट मध्येका उन्न र आशा गरेका छौँ उनीहरुको उपस्थिति र नयाँ संरचनाले अमेरिका क्रिकेट टिम अर्को स्तरमा पुग्नेछ र आगामी छनौट प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेछ”

अमेरिकाले अगस्ट १८ देखि टि -२० विश्वकप क्षेत्रीय छनौट फाइनल खेल्दैछ।

( क्रिक्इन्फो र क्रिक्वजको सहयोगमा )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy