नेपालले जिम्बाबे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेल्ने

२०७६ भाद्र २०, शुक्रबार १२:२५

Nepal vs Zimbabwe

ओमानमा आयोजना हुने ५ देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु अघि नेपालले टेस्ट राष्ट्र जिम्बाबे र सिंगापुर सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना रहेको छ।

नेपालले अक्टोबर ५ देखि १० सम्म ओमानमा खेल्ने प्रतियोगिता पक्का भइसकेको छ। उक्त प्रतियोगितामा आयोजक ओमान सहित, नेपाल , हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्। अक्टोबर ११ देखि युएईमा आयोजना हुने टि-२० विश्वकपको तयारीको लागि ओमानले प्रतियोगिता आयोजना गरेको हो।

नेपाललाई पछि पार्दै टि-२० विश्वकप छनौट प्रतियोगितामा छानिएको सिंगापुरले पनि टि-२० विश्वकप छनौटको तयारीको लागि त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो।

सिंगापुर त्रिकोणात्मक सिरिज बारे विकेटनेपालले नेपाली टिमका मिडिया व्यवस्थापक सुरज शाक्यसंग कुरा गर्दा उनले अहिलेसम्म खेल्ने अधिकारिक रुपमा पक्का नभएता पनि नेपाली टिम सिंगापुर जाने कुराको भने पुस्टि गरेका छन्। भ्रमण गर्नु अघि नेपाललाई आईसीसीको अनुमतिको आवस्यकता रहन्छ जसपछि केहि दिनमै अधिकारिक निर्णय आउनेछ।

Nepal vs Singapore
टि-२० विश्वकप छनौटको तयारी स्वरूप त्रिकोणात्मक सिरिज आयोजना हुन लागेको हो

जिम्बाबेको एक मिडियाले भने जिम्बाबेले नेपाल र सिंगापुरसंग सिरिज खेल्ने भन्दै समाचार लेखेको छ। जिम्बाबे क्रिकेट टिमले अफगानिस्तान र बंगलादेशसंग त्रिकोणात्मक टि-२० अन्तर्रास्ट्रिय सिरिज खेल्नेछ। अफगानिस्तान र बंगलादेशमा जारि एक मात्र टेस्ट पछि उक्त त्रिकोणात्मक टि-२० सिरिज बंगलादेशमा खेलिनेछ। उक्त सिरिज पछि जिम्बाबे सिंगापुर जाने बताईएको छ।

सिंगापुर, नेपाल र जिम्बाबे बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म आयोजना हुने बताईएको छ। ३ देशले एक अर्का बीच २/२ वटा खेल खेल्ने छन् जसपछि अंक तालिकामा उत्कृस्ट हुने टिम  बीच फाइनल खेलिनेछ।

गत महिना सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौट ( एसीया फाइनल ) प्रतियोगितामा सिंगापुर पहिलो हुँदै टि-२० विश्वकप छनौट खेल्न पहिलो पटक छनौट भएको थियो। अन्तिम खेलमा नेपालले सिंगापुरलाई जित्ने पर्ने परिस्थितिमा नेपाल ८२ रनले पराजित भएको थियो। 

जिम्बाबेसंग नेपालले पछिल्लो पटक गत वर्ष एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा खेलेको थियो। जिम्बाबेमा सम्पन्न उक्त प्रतियोगितामा नेपाललाई घरेलु टिमले ११६ रनले सहजै पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै जिम्बाबेए दिएको ३८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो। ब्रेण्डन टेलर र सिकन्दर राजाले शतक बनाएका थिए भने नेपालको ब्याटिंगमा शरद भेसवकर र आरिफ शेखले अर्धशतक बनाएका थिए।

नेपाली राष्ट्रिय टिम हाल दक्षिण एसियाली खेलकुदको लागि अभ्यासरत रहेको छ

जिम्बाबे क्रिकेटलाई आईसीसीले निलम्बन गरेता पनि बोर्डले आफ्नै पहलमा टिमलाई खेलाउन लागेको हो। निलम्बनको कारण जिम्बाबेले टि-२० विश्वकप छनौट खेल्न पाएन जसको सट्टा अफ्रीकाको टिम नाइजेरियाले प्रतियोगिता खेल्ने मौका पाएको छ। 

नेपाली क्रिकेट टिम हाल डिसेम्बर १ देखि नेपालमा आयोजना दक्षिण एसियाली खेलकुदको लागि तयारीमा व्यस्त रहेको छ। प्रतियोगिताको लागि ३५ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको छ। सोहि टिमबाट सिंगापुर र ओमानमा हुने सिरिजको लागि टिम छनौट गरिनेछ।

३५ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टिम  – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया , प्रदिप ऐरि , सुनिल धमला, सौरभ खनाल, ललित सिंह भण्डारी, बिक्रम सोब, इशान पाण्डे , करन केसी, आसिफ शेख, बिनोद भण्डारी, सन्दिप जोरा , कुशल मल्ल , रित गौतम , पवन सर्राफ , अमित श्रेष्ठ, किशोर महतो , आरिफ शेख , सुशन भारि, अनित शाह , अविनाश बोहरा , सन्दिप लामिछाने , ललित राजबंशी , नन्दन यादब , रोहित पौडेल, भिम शार्की , कुशल भुर्तेल, दिपेन्द्र ऐरि , सोमपाल कामि, सागर ढकाल र शाहब आलम

ओमान सिरिजबाट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण भन्दै नाम फिर्ता लिएका छन्। उनले सिंगापुर सिरिज खेल्ने नखेल्ने बारे जानकारी प्राप्त भएको छैन।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy