सन्दिप बारे मेलबर्न स्टार्स प्रशिक्षक हस्सीको ठुलो भनाइ, यो सिजन पुरानै टिमबाट बिग ब्यास खेल्ने

२०७६ भाद्र २७, शुक्रबार २२:२०

गत सिजन चर्चित अस्ट्रेलियन बिग ब्यास लिगमा डेब्यु गर्दै राम्रो प्रदर्शन गरेर मन जितेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने अर्को सिजन पनि मेलबर्न स्टार्सबाटै लिग खेल्ने भएका छन्।

सन्दिपको टिम स्टार्स गत सिजन लिगको फाइनल पुगेको थियो जसमा मेलबर्न रेनेगेड्ससंग टिम पराजित हुँदै पहिलो उपाधि जित्न बन्चित भएको थियो। लिगको पहिलो चरणको खेलहरु खेलेपछि सन्दिप बीचमा बंगलादेश प्रिमियर लिग खेल्न पुगेका थिए। बंगलादेश प्रिमियर लिग सकेर उनि पुनः अन्तिम चरणको खेल खेल्न अस्ट्रेलिया पुगेका थिए। कुल ८ खेल खेल्दा सन्दिपले ११ विकेट लिएका थिए जसमा ६.५७ को निकै राम्रो इकोनोमिले बलिंग गरेका थिए।

गत सिजन बिग ब्यासमा सन्दिपको विकेट सेलेब्रेसन

यो पटक भने सन्दिपले पुरा सिजन बिग ब्यास खेल्ने छन्। गत सिजन बंगलादेश प्रिमियर लिगसंग पहिलेनै सम्झौता गरेको कारण बीचमा बंगलादेश जान पर्ने बाध्यता सन्दिपसंग रहेको थियो।

सन्दिपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिपले बिग ब्यास मेलबर्न स्टार्सको लागि खेल्ने निश्चित जसो रहेको विकेटनेपाललाई बताएका छन्। उनले यो पटक सन्दिप पुरा सिजन बिग ब्यास खेल्ने समेत जानकारी गराए।

“सन्दिप मेलबर्न स्टार्सको लागि खेल्ने लगभग पक्का भइसकेको छ तर पनि अन्तिम सम्झौता भने भइसकेको छैन।”

यो पटक सन्दिपले पहिले भन्दा अझ बढी रकम पाउने समेत शिवाकोटीले बताए। गत सिजन उनले ६०-७० हजार डलर पाएको बताईएको थियो।

सन्दिप हाल बार्बेडोस ट्राईडेन्ट्सको लागि वेस्टइन्डिजमा करेबियन प्रिमियर लिग खेलीरहेका छन्। पछिल्लो समय उत्कृस्ट प्रदर्शन गर्न नसकेका कारण आलोचित उनले लिगको पछिल्लो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिंदै फर्ममा आएको संकेत गरेका छन्।

करेबियन प्रिमियर लिग खेल्न जानु अघि सन्दिप अस्ट्रेलिया पुगेका थिए जसको उद्देश्य बिग ब्यास रहेको बताईएको थियो।

“सन्दिप गत वर्ष असाधारण थिए” – प्रशिक्षक डेभिड हस्सी 

मेलबर्न स्टार्सका नयाँ प्रशिक्षक डेभिड हस्सीले सन्दिप लामिछानेको गत वर्ष बिग ब्यासमा प्रदर्शन सम्झदै तारिफ गरेका छन्।

David Hussey

“सन्दिप गत वर्ष आधारण थिए। म आशावादी छु कि उनि अझ सुधारिनेछन्। उनले हाम्रो टिमलाई राम्रो पूर्णता दिन्छन्।”  एक अस्ट्रेलियन वेबसाइटको लागि कुरागर्ने क्रममा हस्सीले सन्दिप जुन सुकै परिस्थितिमा बलिंग गर्न सक्ने बलर भएको बताए –

“उनि बलिंगको सुरुवात पनि गर्न सक्छन्, उनि बीचको ओभरमा पनि बलिंग गर्न सक्छन् र अन्तिमको ओभरमा पनि बलिंग गर्न सक्छन्”

“व्यक्तिगत रुपमा म सन्दिप मेलबर्न स्टार्सको लागि पुरा सिजन खेलुन् भन्ने चाहन्छु तर म उनको बंगलादेश प्रिमियर लिगको बाटो छेक्न र उनले सकभर धेरै कमाउन रोक्न सक्दिन” उनले बताए।

पुर्व अस्ट्रेलियन ब्याट्सम्यान हस्सीले अझै सन्दिपको सम्झौता पूर्ण नभएको पनि जानकारी गराएका छन्।

बिग ब्यासमा आफ्नो खेल हेर्न पुगेका नेपाली समर्थकहरुसंग सन्दिप

स्टार्सले अस्ट्रेलियन ओपनर डेभिड वार्नरलाई टिममा ल्याउने पनि प्रयास गरेता पनि उनि खेल्ने सम्भावना न्यून रहेको बताईएको छ। अस्ट्रेलियन टिम व्यस्त रहने हुनाले उनि खेल्ने सभावना कम रहेको हो।

यो पटक बिग ब्यास लिग डिसेम्बर १७ देखि सुरु हुँदै छ भने फेब्रुवरी ८ सम्म चल्नेछ। मेलबर्न स्टार्सले पहिलो खेल डिसेम्बर २० मा ब्रिसबेन हिटसंग खेल्दै सुरुवात गर्नेछ। लिगको यो नवौं सिजन हो।

गत वर्ष सन्दिप बिग ब्यास खेल्दा धेरै नेपाली समर्थकहरु उनको खेल मैदानमा हेर्न पुगेका थिए। २०१८ आईपीएलमा छनौट भए पछि सन्दिप लगातार विदेशी टि-२० लिगहरु खेलीरहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy