सोमपालले अन्तिममा आक्रामक इनिंग खेल्दा नेपालद्वारा जिम्बाब्वेलाई १३३ रनको लक्ष्य

२०७६ आश्विन १०, शुक्रबार १८:५९

Dipendra Airee

नेपाल, जिम्बाब्वे र सिंगापुर सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज सिंगापुरमा सुरु भएको छ। सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाब्वेसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर ब्याटिंग गरिरहेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनको योगफल तयार गर्दै जिम्बाब्वेलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालले अन्तिम-११ मा कुशल मल्ल र इशान पाण्डेलाई डेब्यु गराएको छ। दुवैको टि-२० अन्तर्राष्ट्रिय तथा नेपालको लागि यो नै पहिलो खेल हो। अन्तिम-११ मा देब्रे हाते स्पिनरद्वय सुशन भारि र ललित राजबंशीले मौका पाएनन्।

नेपालको अन्तिम ११ : पारस खड्का ( कप्तान ) , इशान पाण्डे, सोमपाल कामि, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, करन केसी, आरिफ शेख, ,सन्दिप लामिछाने , अविनाश बोहरा, सन्दिप जोरा, कुशल मल्ल

कुशल मल्ल र इशान पाण्डेले डेब्यु गरे

पहिले ब्याटिंग गर्ने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन। इशान पाण्डे दोश्रो ओभरमा ४ रन बनाएर चताराबाट क्याच आउट हुन पुगे। त्यसपछि आरिफ शेख र अर्का ओपनर पारस खड्काले दोश्रो विकेटको लागि २७ रनको साझेदारी गरे। सातौँ ओभरमा आरिफलाई वेलिंगटन मासाकाड्जाले आफ्नै बलमा क्याच आउट गरे। त्यस लगत्तै आठौँ ओभरमा पारस खड्कालाई पनि रायन बर्लले क्याच आउट गरे। आरिफले ८ तथा पारसले १८ रन बनाए। डेब्यु गरिरहेका अर्का खेलाडी कुशल मल्लले पनि २ रन मात्र बनाए जसलाई सेन विलियम्सले क्याच आउट गरे।

१०.१ ओभरमा ५५/४ पुगेको नेपालको योगफललाई उपकप्तान दिपेन्द्र ऐरी र सन्दिप जोराले अघि बढाए। दुवैले पाँचौ विकेटको लागि ३४ रनको साझेदारी गरे। १७ रन बनाएका जोरालाई १६ औं ओभरमा माडजिभाले क्याच आउट गराए जसले १५ बलमा २ चौका प्रहार गरे।

एक किनारमा निडर क्रिकेट खेलीरहेका दिपेन्द्र ऐरी १७ औं ओभरमा आउट भए। ३३ बलमा ५ चौका प्रहार गरेका उनलाई सेन विलियम्सले क्याच आउट गरे।

१६.३ ओभरमा ९५/६ को अवस्थामा रहेको नेपाललाई सातौँ विकेटको लागि बिनोद भण्डारी र सोमपाल कामिले अविजित ३७ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्याए।

सोमपालले इनिंगको अन्तिममा आक्रामक सट खेले

सोमपालले अविजित २५ रन बनाए जुन क्रममा १४ बलमा ३ छक्का प्रहार गरे। बिनोदले ११ रन बनाउन १२ बलमा १ चौका प्रहार गरे। बिनोदले ठुलो सट खेल्ने प्रयास गरेपनि लगातार असफल रहे।

जिम्बाब्वेको बलिंगमा सेन विलियम्सले सर्वाधिक २ विकेट ( ४-०-१९-२ ) लिए। यस्तै वेलिंगटन मासाकाट्जा ( ४-०-१९-१ ) , रायन बर्ल ( २-०-१९-१ ) , नेभिले माडजिभा ( ४-०-३१-१ ) तथा टेन्डाइ चतारा ( ४-०-३०-१ ) ले समान १/१ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy