नेपालको पहिलो खेल भारतसंग, युएईको सट्टा नेपालले पायो इमर्जिङ्ग कप खेल्ने मौका

२०७६ कार्तिक १५, शुक्रबार ००:५१

एसियन क्रिकेट काउन्सिल ( एसीसी ) ले आयोजना गर्ने एसीसी इमर्जिंग टिम्स कप प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने भएको छ। प्रतियोगिता बंगलादेशको कक्स बजार र ढाकामा आयोजना हुँदैछ।

२०१८ एसिया कप छनौटमा नेपाल चौथो स्थानमा रहेको कारण हंगकंग, युएई र ओमानले यस अघि प्रतियोगिता खेल्न पाउने भएका थिए। तर एसीसीले जारि गरेको नयाँ तालिकामा युएईको स्थानमा नेपाललाई मौका दिईएको छ। युएईलाई किन सहभागिता नदिईएको बारे एसीसीले कुनै जानकारी दिएको छैन।

नेपाल क्रिकेट संघले नेपालको सहभागिताको पुस्टि गरेको छ र खेल तालिका समेत सार्वजनिक गरेको छ।

प्रतियोगितामा नेपाल सहित टेस्ट राष्ट्र श्रीलंका, पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश सहित ओमान, हंगकंग गरि कुल ८ टिम सहभागी हुनेछन्। सबै सहभागी टिमले १५ जनाको टिममा ११ जना खेलाडी २३ वर्ष मुनिको खेलाडी अनिवार्य राख्नु पर्नेछ भने ४ जना खेलाडी २३ वर्ष माथिको राख्न पाइनेछ। २३ वर्ष माथिको मात्र ३ जना खेलाडी मात्र अन्तिम-११ मा राख्न पाइनेछ।

नोभेम्बर १४ देखि २३ सम्म चल्ने प्रतियोगितामा अन्तर्गत नेपाल रहेको समुह ‘बि’ मा भारत, बंगलादेश र हंगकंग रहेका छन्। प्रतियोगिता ५० ओभरको हुनेछ जसले लिस्ट ‘ए’ मान्यता पाउनेछ।

नेपालले प्रतियोगिताको सुरुवात नोभेम्बर १४ मा भारतसंग खेल्दै गर्नेछ। त्यसपछि दोश्रो खेल नोभेम्बर १६ मा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ मा बंगलादेशसंग खेल्नेछ। समुह चरणको खेलपछि दुवै समुहबाट उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

गत वर्ष २०१८ मा पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको इमर्जिङ्ग टिम्स कपमा नेपालले सहभागिताको मौका पाएको थिएन। टेस्ट राष्ट्र बाहेक हंगकंग, युएई र ओमानले उक्त प्रतियोगिता खेलेका थिए।

२०१७ मा नेपालले बंगलादेशमा प्रतियोगिता आयोजना हुँदा अन्तिम पटक प्रतियोगितामा सहभागिता जनाएको थियो जुन बेला नेपाल समुह चरणबाट बाहिरिएको थियो। नेपाल पाकिस्तानसंग ६ विकेटले तथा बंगलादेशसंग ८३ रनले पराजित भएको थियो भने हंगकंगलाई ७ विकेटले पराजित गरेको थियो। उक्त प्रतियोगितामा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए।

टि-१० लिग परेका कारण सन्दिप र पारस खेल्ने अनिश्चित 

नोभेम्बर १५ देखि २४ सम्म युएईमा टि-१० लिग आयोजना हुँदैछ जसमा पहिलो पटक पारस खड्का तथा दोश्रो पटक सन्दिप लामिछाने सहभागी हुँदैछन्। पारस पहिलो पटक विदेशी लिग खेल्न छानिएका हुन् र टिम आबु धाबीको प्रतिनिधित्व गर्दैछन्। सन्दिप कर्नाटका टस्कर्सबाट खेल्नेछन्।

एकै समयमा इमर्जिङ्ग टिम्स कप परेको हुँदा सन्दिप र पारसले इमर्जिङ्ग टिम्स कप खेल्नेछन् या विदेशी लिग रोज्नेछन् प्रतीक्षाको विषय रहेको छ। पहिलो पटक विदेशी लिगमा छनौट भएको तथा पारसले यस अघि २०१७ को एसीसी इमर्जिङ्ग टिम्स कपमा पनि नखेलेको कारण टि-१० लिग रोज्न सक्ने सम्भावना प्रवल रहेको छ। सन्दिपले पनि अहिलेसम्म नेपालको खेल हुँदा विदेशी लिग छोड्ने गरेका छन् तर यो पटक छनौट खेल नभएका कारण टि-१० लिग रोज्न सक्ने सम्भावना रहेको छ।

Paras Khadka

प्रतियोगिता खेल्न बंगलादेश प्रस्थान गर्नु अघि नेपालले एमसीसीसंग ३ वटा खेल खेल्दैछ। एमसीसीसंग  एकदिवसीय खेल्न घोषणा गरिएको टिमले इमर्जिङ्ग टिम्स कप खेल्नेछ या अर्को टिम छनौट हुनेछ त्यो भने निर्क्योल हुन बाँकी रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy