एमसीसीद्वारा पोखरा-११ पराजित, अराफातले दिए दिपेश खत्रीलाई आफुले पाएको म्यान अफ द म्याच अवार्ड

२०७६ कार्तिक २५, सोमबार १८:११

मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) को नेपाल भ्रमण अन्तर्गत पोखरामा खेलिएको पहिलो खेलमा भ्रमण टिम एमसीसीले स्थानीय टिम पोखरा-११ लाई ४२ रनले पराजित गरेको छ।

पोखरा रंगाशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै एमसीसीले १६२ रन बनाएपछि १६३ रनको लक्ष्य पछ्याएको पोखरा-११ ले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा पोखरा-११ को लागि दिपेश खत्रीले सर्वाधिक अविजित ४५ रन बनाए। पुर्व राष्ट्रिय क्रिकेटर समेत रहेका खत्रीले अविजित इनिंग खेल्ने क्रममा मात्र ३० बलमा ३ चौका र २ छक्का प्रहार गरे।

कप्तान गोभिन्द प्रधानले २९ , अनिल गुरुङले १६ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ६८ रनमा ७ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गरेका दिपेश खत्रीले आठौँ विकेटको लागि प्रेम गुरुङसंग २७ रनको तथा नवौं विकेटको लागि ऋषिकेश शर्मासंग अविजित २४ रनको साझेदारी गरे।

एमसीसीको बलिङ्गमा माइल्स ह्यामन्ड, विल रोड्स र एड योङ्गले समान २/२ विकेट लिए। यासिर अराफात र विल भान्डरस्परले १/१ विकेट लिए।

एमसीसीको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको एमसीसीले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो।

एमसीसीको लागि यासिर अराफातले सर्वाधिक ३९ रन बनाए। उनले २४ बलमा ४ छक्का र १ चौका प्रहार गरे। यस्तै जिम्मी एडम्सले १२ बलमा २९, रिचार्ड ग्रेटोरेक्सले १७ बलमा २१ तथा ओलिभर हानोनले १० बलमा २१ रन बनाए।

पोखरा-११ को बलिङ्गमा अमृत गुरुङ ( ४-०-३९-३ ) र गोभिन्द प्रधान ( ३-०-२२-३ ) ले समान ३/३ विकेट लिए। सुबास भण्डारीले ( ४-०-२६-२ ) २ तथा दिपेश खत्रीले १ विकेट लिए। ४ ओभरमा मात्र १६ रन खर्चेका बिपिन खत्री विकेट विहिन रहे।

पोखरा भ्रमण अन्तर्गत अब एमसीसीले मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्रि-११ संग बिहान ९ बजे टि-२० खेल खेल्नेछ। मुख्यमन्त्रि-११ टिमको कप्तानी गोभिन्द प्रधानले गर्दैछन्। टिममा दिपेश खत्री, अनिल गुरुङ, बिपिन खत्री, अमृत गुरुङ, सुभाष भण्डारी, दिपेश श्रेष्ठ, किशोर महतो, मुस्कान थापा, चन्द्रकान्त पौडेल, प्रविन ढकाल, रमेश बस्नेत, विशाल रहेका छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु तथा व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन्।

एमसीसीले नेपाल भ्रमण अन्तर्गत काठमाडौँमा नेपाली अन्डर-१९ र नेपाली सिनियर टिमसंग ४ वटा खेलहरु खेलेर पोखरा प्रस्थान गरेको हो। नेपाली यु-१९ टिमलाई ३८ रनले पराजित गरेको एमसीसीले नेपाली सिनियर टिमसंग एकदिवसीयमा ५ विकेटको हार बेहोरेको थियो। त्यसपछि नेपाललाई तिन दिवसीय प्रथम श्रेणी खेलमा २०८ रनले पराजित गरेको एमसीसीले शनिवार सम्पन्न अन्तिम खेलमा नेपाल यु-१९ र सिनियर खेलाडी मिश्रित टिमलाई ११३ रनले पराजित गरेको थियो।

यासिर अराफातले दिपेश खत्रीलाई दिए म्यान अफ द म्याच ट्रफी  

पोखरा ११ र एमसिसीका विचमा भएको मैत्रीपूर्ण खेलमा एमसिसीका लागि याशिर अराफतलाई म्यान अफ दि म्याच घोषित गरियो । उनले म्यान अफ दि म्याचको ट्रफी राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङको हात बाट पनि थापे । तर आफूले पाएको म्यान अफ दि म्याचको ट्रफी खेलमा सर्वाधिक रन बनाउने दिपेश खत्रीलाई दिन चाहेको बताउँदै दिपेशको नाम बोलाए ।

दिपेश भने मैदानमा थिएनन । उनी आफ्नो प्लेइङ्ग किट्स बोकेर मैदान छोडिसकेका थिए। दिपेशको खोजि भयो गेट नजिकै पुगेका दिपेशलाई मैदानमा बोलाएर अराफतले पाएको ट्रफि दिपेशको हातमा राख्दै उत्कृष्ट व्याटिङ गरेको बधाई दिंदै ट्रफी हातमा थमाए। एमसिसी र गण्डकी प्रदेश सम्मिलित खेलाडी मुख्यमन्त्रि ११ विचको खेल मंगलबार बिहान १० बजे हुने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।

( पोखरास्पोर्ट्सको सहयोगमा )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy