साग महिला क्रिकेट : नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने, बंगलादेश र श्रीलंका फाइनलमा

२०७६ मंसिर २१, शनिबार ०९:४३

लिग चरणको अन्तिम खेलमा श्रीलंकासंग पराजित भएपछि दक्षिण एसियाली खेलकुद महिला क्रिकेट अन्तर्गत नेपाली महिला टिम फाइनल पुग्न असफल भएको छ।

शुक्रबार पोखरामा सम्पन्न खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। बंगलादेश यस अघिनै लिग चरणको सबै ३ खेल जित्दै फाइनल पुगीसकेको छ। नेपालले ३ मध्ये २ खेलमा हार र एउटा जित दर्ता गर्यो भने श्रीलंकाले २ जित र १ हार बेहोर्यो। माल्दिभ्सले तिन वटै खेल हार्यो।

अब महिला क्रिकेटको स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंकाले आइतबार प्रतिस्पर्धा गर्नेछन्। यस्तै कास्य पदकको लागि शनिवार नेपाल र माल्दिभ्स बीच प्रतिस्पर्धा हुनेछ।

Srilanka Womens Cricket Team

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्रै बनाउन सक्यो।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले १९, कविता कुँवरले अविजित १३, करुणा भण्डारीले १२, अप्सरी बेगम र काजल श्रेष्ठले समान ११ रन बनाए। सिता राना मगर, इन्दु बर्मा र डली भट्ट खाता नखोली आउट भए। श्रीलंकाको बलिंगमा सचिनी निसानसालाले सर्वाधिक ३ विकेट, सत्या संदिपानीले २ विकेट हात पारिन्।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर ११८ रन बनाएको थियो। उसको लागि लाहिनी अप्सराले सर्वाधिक ३७, जनादी अनालीले ३५, सत्या संदिपानीले २२ तथा कप्तान हर्शिता माधवीले १६ रन बनाईन्।

नेपालको बलिंगमा सोनु खड्का र सरस्वति चौधरीले समान २/२ विकेट तथा अन्जली चन्दले १ विकेट लिईन्।

खेलमा नेपालले ४ वटा क्याच छुटाउनु तथा खराब फिल्डिंग गर्नु हारको प्रमुख कारण बन्नपुग्यो। सागको लागि ३ महिना अभ्यास गरेको नेपाली महिला टिमको प्रदर्शन त्यस अनुरुप रहन सकेन। हार पछि प्रतिक्रिया दिने क्रममा कप्तान रुबिना क्षेत्रीले टेस्ट रास्ट्र बिरुद्ध यतिको खेल खेल्नु ठुलो कुरा रहेको प्रतिक्रिया दिईन्।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy