डेब्युमै कप्तान मल्लको विकेट लिएपछि नितेश भन्छन् आफुलाई अझै प्रमाणित गर्नेछु

२०७६ मंसिर ३०, सोमबार २१:१५

पोखरा। दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)मा सोमबारको दोश्रो खेलमा बुटवल ब्लास्टर्स विजयी भयो। काठमाडौँलाई सुपर ओभरमा पराजित गर्दै बुटवलले जित हात पारेको हो।

सोमबारको खेलमा बुटवलको टोली युवा खेलाडीले भरिपूर्ण रहेको थियो। बुटवलको टोलीबाट सोमबारको खेलमा एउटा नयाँ प्रतिभाले आफुलाई सबैसामु चिनाउने मौका प्राप्त गर्यो। प्रतियोगितामा बुटवलको पहिलो खेलमै मौका पाउने उक्त प्रतिभा हुन्- नितेश थापा। नितेशले आजको खेल मार्फत घरेलु फ़्रेञ्चाइजमा डेब्यु गरेका हुन्। देब्रे हाते स्पिनर थापाले डेब्यु खेलमै सम्झनलायक प्रदर्शन गरे। ३ ओभर बलिङ्ग गरेका थापाले १७ रन खर्चदै २ महत्तवपूर्ण विकेट लिन सफल भए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान एवं काठमाण्डौका कप्तान ज्ञानेन्द्र मल्ललाई उनले शेर मल्लको हात बाट क्याच आउट गराए। विष्फोटक मानिएका भारतीय खेलाडी सुबोध भाटीलाई उनले दोश्रो बलमै डक आउट गराए।

२ वर्ष अगाडीबाट क्रिकेट खेल्न थालेका थापाले यसघि पनि लिगमा अनुबन्धित भएपनि म्याचमा भने पर्न सकिरहेका थिएनन्। यसघि थापा २०१८ को एभरेस्ट प्रिमिएर लिग २०१८ मा काठमाण्डौ किंग्स ११ को टिममा रहेका थिए। यस्तै उनी अघिल्लो संसकरणको पोखरा प्रिमिएर लिग (पीपीएल)मा बुटवलकै टोलीमै रहेका थिए। तर उनले कुनै पनि खेल खेल्न पाएका थिएनन्।

Nitesh Thapa ( Photo – Butwal Blasters Facebook )

आज डेब्यु गर्दा पहिले हतोत्साहित भएका थापाले पछी उनका कप्तान सोमपालले सम्जाएपछि भने केहि नसोचेको प्रतिक्रिया दिए। खेल पछि पत्रकारहरु संग कुरा गर्दै थापाले भने,’आज डेब्यु गर्न लाग्दा डर लागिरहेको थियो, तर सोमपाल दाइले सम्झाएपछि म खेलमै ध्यान दिन लागे। ‘

‘आज विकेट लिन्छु नै भनेर सोचेको थिईन’, थापाले भने,’ आफ्नो लाईन अनुसारको बलिङ्ग गर्छु भनेर मैदान पसेको थिए, विकेट पनि निस्किए।’ बुटवलामा जन्मेर, हुर्केका १९ वर्षीय थापाले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरे पछि मात्र अरु प्रतियोगिताको बारेमा सोच्ने बताउँछन्। थापाले क्रमिक रुपमा राम्रो क्रिकेट खेल्न सके मात्र भावी दिनको बारेमा सोच्ने बताए।

उनले आगामी दिनमा मौका पाए टिमलाई फाइदा पुग्ने गरि उत्कृष्ट क्रिकेट खेल्दै आफुलाई प्रमाणित गर्ने बताए। थापाले भने,’ अरु खेलमा पनि मौका पाएँ भने उत्कृष्ट क्रिकेट खेल्दै आफुलाई प्रमाणित गर्ने छु। ‘

थापाले सबै जुनियर खेलाडीले मौका पाए मात्र उनीहरुलाई फाइदा पुग्ने ठान्छन्। साथै उनले आफुलाई टिममा मौका दिएकोमा कप्तान सोमपाल र टिम प्रति आभार प्रकट गरे। ‘जुनियर खेलाडी क्रिकेटमा बढ्न पनि मौका चाहिन्छ, अनुभवले नै मानिस अगाडी बढ्न सक्छ। ‘ थापाले भने.’ मलाई टोलीमा मौका दिनु भएकोमा सोमपाल दाई र टिमप्रति आभारी छु। ‘

थापाले राष्टिय टिमका सदस्य र केहि बिदेशी खेलाडीसंग समान ड्रेसिङ्ग रुम प्रयोग गर्न पाउँदा आफ़ुलाई भाग्यमानी ठान्छन्। ‘राष्ट्रिय टिमका केहि दाईहरु र बिदेशी खेलाडीसंग एउटै ड्रेसिङ्ग रुम प्रयोग गर्न पाउँदा भाग्यमानि ठानेको छु। ‘ थापाले सुनाए,’ बिदेशी र स्वदेशी खेलाडीसंग सिक्ने मौका पाउँदा खुशी छु। ‘

Nitesh Thapa ( Photo – Butwal Blasters Facebook )

यता बुटवलका कप्तान सोमपाल कामि नितेशले भावी दिनमा अझै राम्रो गर्न सक्ने बताउछन्। सोमपालले भने,’ उ एकेडेमीमा निकै मिहिनेत गर्छ र प्रतिभावान छ, मौका पाएको थिएन हामीले मौका दियौं। ‘ सोमपालले नितेशलाई पहिलेबाट नै हेरिरहेको र मैदान बाहिर उच्च मनोबल भएपनि मैदानमा भने नितेश्को मनोबल माथि आफु निर्धक्क नभएको सुनाए। ‘मैदान बाहिर त उसको मनोबल बढी छ, तर मैदानमा भने मनोबाल घटाउँछ कि जस्तो लागेको थियो तर त्यस्तो भएन। ‘ कप्तान सोमपालले भने,’ अवस्था अनुसारको खेल खेल्यो, उसले अझै मिहिनेत गर्छ भन्नेमा ढुक्क छु। ‘

यता बुटवलका टिम व्यवस्थापक राजन शाहले आफुहरुले प्रतिभा चिनेर नै नितेशलाई खेल्ने मौका दिएको सुनांछन् । शाहले भने,`उसको बलमा टर्न र रोटेसन बढी छ, हामिले उसको सोही प्रतिभाको सम्मान गर्छौ । नितेशको खेल हेरेपछी सबैले नितेश निकै माथि जाने प्रतिक्रिया दिएको व्यव्स्थापक शाहले बताए । नितेशलाई आफ्नो टोलिले पुर्व राष्ट्रिय क्रीकेट खेलाडी शक्ति गौचनको एकेडेमिबाट चिनेको शाहले बताए । `उसको खेल कौशल देखेर नै हामिले अघिल्लो वर्ष टोलिमा राख्यौं, अहिले उसले खेल्ने मौका पाएको छ´ व्यव्स्थापक शाहले सुनाए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy