२०२१ जुनमा एसिया कप टि-२० आयोजना गर्ने एसीसीको तयारी, श्रीलंकामा खेलिने

२०७७ असार २५, बिहीबार २१:०३

यो वर्ष सेप्टेम्बरमा आयोजना हुने भनिएको एसिया कप टि-२० प्रतियोगिता कोभिड-१९ महामारीका कारण रद्द भएको छ। निर्धारित समयमा एसिया कप टि-२० आयोजना नहुने भएपछि अब आगामी वर्ष जुनमा एसिया कप टि-२० आयोजना गर्ने प्रयासमा एसियन क्रिकेट काउन्सिल रहेको छ।

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) का अध्यक्ष सौरभ गांगुलीले एक अन्तर्वार्ताको क्रममा प्रतियोगिता रद्द भएको खुलासा गरेका थिए।

यस्तै एसीसीले पाकिस्तान क्रिकेट बोर्डले आफुले पाएको प्रतियोगिताको आयोजना अधिकार श्रीलंकालाई दिएको समेत बताएको छ। श्रीलंकाले आगामी वर्ष आयोजना गरेपछि २०२२ मा पाकिस्तानले प्रतियोगिता आयोजना गर्नेछ।

“सेप्टेम्बर २०२० मा एसिया कप आयोजना गर्ने प्रयास भएता पनि कोभिड-१९ का कारण देशहरु बीच यात्रा प्रतिबन्ध तथा अन्य स्वास्थ्य खतराहरुलाई मध्यनजर गर्दै यो वर्ष प्रतियोगिता सार्ने निर्णय गरेका छौँ। हामि जुन २०२१ मा प्रतियोगिता आयोजना गर्ने सोचका साथ काम गरिरहेका छौँ” एसीसीले बिहिबार बेलुका जारि गरेको प्रेस विज्ञप्तिमा बताएको छ।


प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको एसिया कप सन् २०१६ पछि टि-२० र एकदिवसीयमा पालै पालो आयोजना हुने सहमति भएको थियो। सन् २००८ पछि पाकिस्तानले एसिया कप आयोजना गरेको छैन। २०१० मा श्रीलंकाले प्रतियोगिता आयोजना गरेपछि अन्य तिन संस्करण बंगलादेशले आयोजना गरेको थियो। तर २०१८ को एसिया कप भने युएईमा आयोजना भएको थियो।

एसिया कपमा एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनौट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी थिए। अगस्टमा मलेसियामा एसिया कप छनौट प्रतियोगिता आयोजना हुने तय भएको थियो जसमा हंगकंग, कुवेत, सिंगापुर र युएई सहभागी हुँदै थिए।

नेपाल भने लगातार दोश्रो पटक एसिया कप रेसबाट बाहिर भैसकेको थियो। थाइल्याण्डमा फेब्रुअरीमा सम्पन्न एसिया कप पूर्वी छनौटमा नेपाल चौथो भएको थियो। सिंगापुर र हंगकंग पूर्वी क्षेत्रबाट छनौट भएका थिए। नेपालले ४ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। मलेसिया र हंगकंगसंग पराजित भएको नेपालले थाइल्याण्ड पराजित गरेको थियो भने सिंगापुरसंगको खेल वर्षाले रोकिएको थियो।

धेरैले पढेको :- 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy