CPL : गायना ११८ रनमै सिमित, सन्दिप र मुजिबको शानदार बलिंग

२०७७ भाद्र ७, आईतवार ०२:०४

करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले आफ्नो तेश्रो खेलमा गायना अमेजन वारियर्ससंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको गायनाले १९.१ ओभरमा ११८ रनमा सम्पूर्ण विकेट गुमाएपछि जमैकाले ११९ रनको लक्ष्य पाएको छ।

गायनाको लागि ओपनर ब्रेन्डन किंगले सर्वाधिक २९ रन, चन्द्रपौल हेमराज र रस टेलरले समान २१ रन तथा नभिन उल हकले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

राम्रो सुरुवात गरेको गायनाको लागि ओपनर किंग र हेमराजले पहिलो विकेटको लागि ५६ रनको साझेदारी गरेका थिए। छैठौं ओभरमा अफगानीस्तान अफ स्पिनर मुजिब उर् रहमानले लगातार २ विकेट लिंदै किंग र शिमरन हेटमायरलाई आउट गरेपछि गायना खेलमा फर्कन सकेन। मुजिब पछि नेपालि स्पिनर सन्दिपले बीचको ओभरमा कन्जुस्याइँपूर्ण बलिंग गर्दै २ विकेट लिंदा गायनाको इनिंग धरासायी बन्न पुग्यो।

सन्दिपले मात्र ८ रन खर्चेर २ विकेट लिए

जमैकाको बलिंगमा अफ स्पिनर मुजिब उर् रहमानले सर्वाधिक ३ विकेट ( ४-०-१८-३ ) लिए जुन क्रममा गायनाको माथिल्लो क्रमको ब्याट्सम्यानलाई पेभेलियन फर्काए। त्यस्तै सन्दिप लामिछानेले मध्यक्रमका ब्याट्सम्यानहरुलाई पेभेलियन फर्काउने क्रममा २ विकेट लिन ४ ओभरमा मात्र ८ रन खर्चिए। कार्लोस ब्राथवेटले २ तथा आन्द्रे रसेलले १ विकेट लिए।

सन्दिपको विदेशी टि-२० लिग इतिहासकै किफायती बलिंग 

सिपिएल टि-२० मा सन्दिपले आफ्नो शानदार लयलाई जारि राख्ने क्रममा तेश्रो खेलमा गायना बिरुद्ध अझ राम्रो बलिंग गरे। उनले विदेशी टि-२० लिग करियरमै पुरा ओभर बलिंग गर्दा सबैभन्दा किफायती बलिंग गर्नुको साथै २ विकेट समेत खेलमा लिएका हुन्।

४ ओभरमा सन्दिपले मात्र ८ रन खर्चेर २ विकेट लिए जुन क्रममा गायना कप्तान क्रिस ग्रिन र शर्फेन रुथरफोर्डको विकेट पनि लिए।

विदेशी टि-२० लिगमा सन्दिपले पुरै ४ ओभर बलिंग गर्दा यो सबैभन्दा किफायती बलिंग स्पेल हो। यस अघि सन्दिपले २०१९ को पाकिस्तान सुपर लिगमा क्वेटा ग्ल्याडीएटरस बिरुद्ध ४ ओभरमा १० रन खर्चेर २ विकेट लिएका थिए। २०१८ को सिपिएल टि-२० मा गायना बिरुद्धनै ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए।

सन्दिपको ओभर-ओभरमा कस्तो रह्यो बलिंग 

सन्दिपको पहिलो ओभर :- २ रन ( १ , ० , १ , ० , ० , ० )

गायनाले लगातार विकेट गुमाएको अवस्थामा नवौं ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा रस टेलर र शर्फेन रुथरफोर्डलाई दबाबमा राख्ने क्रममा मात्र २ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरे।

सन्दिपको दोश्रो ओभर :- १ रन खर्चेर १ विकेट ( १ , विकेट , ० , ० , ० , ० )

लगत्तै स्पेलमा ११ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले दोश्रो बलमा शरफेन रुथरफोर्डको विकेट लय। खराब बल भएता पनि रुथरफोर्डले टाढा जाँदै गरेको बललाई जोडले हिर्काउन खोज्दा सर्ट थर्डम्यानमा समातिन पुगेका थिए। ओभरमा सन्दिपले मात्र १ रन खर्चेर १ विकेट लिए। पहिलो बलमा रस टेलरले १ रन लिए पछिको ५ बलमा सन्दिपले रननै खर्चेनन्।

सन्दिपको तेश्रो ओभर :- ३ रन ( ० , ० , १ , २ , ० , ० )

लगातार तेश्रो ओभर उत्कृस्ट बलिंग गर्ने क्रममा सन्दिपले मात्र ३ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरेर रस टेलर र किमो पौललाई खुलेर खेल्न दिएनन्।

सन्दिपको चौथो ओभर :- २ रन दिएर १ विकेट ( ० , ० , १ , विकेट , ० , वाइड , ० )

लगातार स्पेलमा बलिंग गर्ने क्रममा १५ औं ओभरमा सन्दिपले झनै उत्कृस्ट बलिंग गरे। ओभरमा मात्र २ रन खर्चेर १ विकेट समेत उनले लिए। गायना कप्तान क्रिस ग्रिनलाई ओभरको चौथो बलमा उनले खुट्टा पछाडीबाट बोल्ड गरे। ओभरमा सन्दिपले एउटा वाइड बल गरे भने रस टेलरले तेश्रो बलमा १ रन लिनु बाहेक सबै बलमा रन दिएनन्।

सन्दिपको नयाँ किर्तिमान 

सन्दिपले खेलेको अहिलेसम्मकै विदेशी टि-२० लिगमा ४ ओभर बलिंग गर्दा वा खेलमा आफुले पाएको पुरा ओभर बलिंग गर्दा गरेको यो सबैभन्दा किफायती बलिंग हो। यस अघि खेलमा पुरा ओभर बलिंग गर्दा सन्दिपले सबैभन्दा कम ११ रन खर्चिएका थिए। २०१९ को बिग ब्यास लिगमा सिड्नी थन्डर्स बिरुद्ध ३.४ ओभर बलिंग गर्दा सन्दिपले मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। अन्तिम ब्याट्सम्यानको विकेट लिएपछि सन्दिपको स्पेल सकिएको थियो।

यस्तै खेलमा पुरा ४ ओभर बलिंग गर्दा २०१८ को करेबियन प्रिमियर लिगमा गायना बिरुद्ध सन्दिपले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिएका थिए।

नेपाली राष्ट्रिय टिमको लागि टि-२० अन्तर्राष्ट्रियमा सन्दिपको सबैभन्दा किफायती बलिंग स्पेल थाइल्याण्ड बिरुद्धको ४-२-९-१ हो। यसै वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न टि-२० प्रतियोगिता अन्तर्गत सन्दिपले थाइल्याण्ड बिरुद्ध ४ ओभरमा ९ रन मात्र खर्चेर १ विकेट लिएका थिए जुन क्रममा २ मेडन ओभर गरेका थिए।

नेपालको टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा किफायती स्पेलको कुरा गर्दा सन्दिपको थाइल्याण्ड बिरुद्धको उक्त स्पेल चौथो किफायती हो। सबैभन्दा किफायती स्पेलको किर्तिमान पवन सर्राफको नाममा रहेको छ जसले गत वर्ष डिसेम्बरमा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद ( साग ) मा माल्दिभ्स बिरुद्ध ३ ओभरमा मात्र ३ रन खर्चेका थिए। उनले ३ ओभरमा २ ओभर मेडन गर्दै १ विकेट लिएका थिए।

सिपिएल टि-२० इतिहासकै सातौँ किफायती स्पेल 

यस्तै करेबियन प्रिमियर लिग टि-२० को आठौँ संस्करणसम्म सन्दिपले गरेको स्पेल संयुक्तरुपमा सातौँ किफायती स्पेल हो। सन्दिपसंगै गायनाका वर्तमान कप्तान क्रिस ग्रिनले पनि २०१८ को सिपिएलमा ट्रिनिडाड बिरुद्ध ४ ओभरमा १ मेडन ओभर गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए। यस्तै सुनिल नारायणले पनि २०१७ मा ट्रिनिडाडबाट खेल्ने क्रममा सेन्ट किट्स बिरुद्ध ४ ओभरमा १ मेडन ओभर गर्दै ८ रन खर्चेर १ विकेट लिएका थिए।

सिपिएल टि-२० इतिहासको सबैभन्दा किफायती स्पेलको रेकर्ड पाकिस्तानका बलर मोहम्मद इरफानको नाममा रहेको छ। इरफानले २०१८ को सिपिएल टि-२० मा सेन्ट किट्स बिरुद्ध ४ ओभरमा ३ मेडन ओभर गर्दै मात्र १ रन खर्चेर २ विकेट लिएका थिए। उनको इकोनोमी रेट मात्र ०.२५ रहेको थियो। यस्तै शोयब मलिक, सुनिल नारायण र सोहेल तन्बिरले ४ ओभरमा मात्र ३ रन खर्चेका छन्। इरफान, मालिक, नारायण र तन्भिर सिपिएलमा १ भन्दा कमको इकोनोमिमा बलिंग गर्ने ४ बलर हुन्।

सिपिएल टि-२० इतिहासमा २ वा त्यो भन्दा कमको इकोनोमि रेटमा हालसम्म सन्दिप सहित १५ जना बलरले मात्र बलिंग गर्न सकेका छन्।

प्रतियोगिताको अघिल्लो २ खेलमा सन्दिपको प्रदर्शन :

लिग अन्तर्गत पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका सन्दिपले दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध ३० रन खर्चेर १ विकेट लिए। मध्यम ओभरमा बलिंग गरिरहेका सन्दिपले सहजै रन दिईरहेका छैनन् र साझेदारी तोड्ने काम राम्रो संग गरिरहेका छन्। निश्चित देखिएको एलबिडब्लु तथा क्याच छुट्दा विकेट कम लिएता पनि सन्दिपले लिगमा राम्रो लय देखाइरहेका छन् भने बलिंगमा आत्मविश्वास पनि देखिएको छ।

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए।२५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/eng-vs-pak-2nd-day-rep-wn20/

https://wicketnepal.com/cpl-t20-m7-zouks-win-wn20/

https://wicketnepal.com/irfan-pathan-farewell-wn20/

https://wicketnepal.com/can-50-players-corona-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy