युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बिहिवार ३१ औं खेलमा बिराट कोहली कप्तानको रोयल च्यालेन्जर्स बैंगलोर र लोकेश राहुल कप्तानीको किङ्ग्स-११ पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।
यस अघि ७ खेल खेलेको बैंगलोर १० अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको पन्जाब मात्र १ जित र ६ हार पछि मात्र २ अंक बटुल्दै पुछारमा छ। अन्तिम-४ मा प्रवेश गर्ने सम्भावना जीवित राख्न पन्जाबलाई आजको खेल जित्नैपर्ने हुन्छ। बैंगलोर आजको खेलमा जित हात पार्दै अन्तिम-४ मा स्थान मजबुत गर्न चाहन्छ।
बैंगलोर :- सन्तुलित देखिएको बैंगलोर राम्रो लयमा छ। यो सिजन डेब्यु गरेका देवदत्त पडिक्कलको प्रदर्शन प्रशंसनीय रहेको छ। कप्तान बिराट कोहली पनि लयमा छन्। पछिल्लो खेलमा ३३ बलमा ७३ रनको विस्फोटक पारी खेलेका एबि डिभिल्लियर्सले आफ्नो सोही प्रदर्शनलाई निरन्तरता दिनुपर्नेछ। एरोन फिन्चको प्रदर्शन देख्न बाँकी रहेको छ। शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उदाना र क्रिश मोरिसले ठुला प्रहार गर्ने खुबी राख्दा बैंगलोरको ब्याटिंगमा गहिराइ रहेको छ।
बैंगलोरको बलिंग पक्ष उत्कृष्ट रहेको छ। सुन्दरले पावरप्लेमा किफायती बलिंग गर्नु साथै महत्त्वपूर्ण विकेट दिलाउने गर्छन्। उदाना, मोरिस र सैनीले प्रभावशाली प्रदर्शन गरेका छन्। लेग स्पिनर चहलले कसिलो बलिंग गर्दै अहम् विकेट लिएका छन्। मोहम्मद सिराजले राम्रो बलिंग गर्दा कप्तानसंग पर्याप्त बिकल्प छ।

पन्जाब :- पछिल्लो खेलमा कोलकाता विरुद्ध २ रनको अप्रत्याशित हार बेहोरेको पन्जाब खराब लयबाट गुज्रिरहेको छ। प्लेअफमा पुग्नका लागी पन्जाबलाई आगामी खेलहरु जित्नै पर्ने दबाब छ। कप्तान लोकेश राहुल र मंयक अग्रवालको ब्याटबाट रन बनेता पनि टिमलाई जितसम्म डोर्याउन सकेका छैनन्। निकोलस पुरनले हैदराबाद विरुद्ध विस्फोटक ब्याटिंग गरेता पनि प्रदर्शनमा स्थिरता ल्याउनु पर्नेछ। ग्लेन म्याक्सवेलको प्रदर्शन खराब रहेको छ जसले अब अन्तिम-११ मा स्थान बनाउन संघर्ष गर्नेछन्।
फितलो बलिंग रहेको पन्जाबमा घातक बलरको अनुपस्थिती रहेको छ। मोहम्मद शामी र रभी बिस्नोइले राम्रो प्रदर्शन गरिरहेता पनि अन्य बलरको साथ छैन। मुजिब उर रहमानको धारिलो बलिंग देख्न बाँकी रहेको छ। बायाँ हाते तिव्र गतिका बलर अर्शदिप सिंहले आफ्नो छाप छोड्न सफल भएका छन्। डेथ ओभर बलिंग टिमको कमजोर रहेको छ।
पछिल्लो भेट :- जारी सिजन पन्जाबले बैंगलोर विरुद्ध एकमात्र जित दर्ता गरेको थियो। लिगको छैटौं खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा हुँदा पन्जाबले ९७ रनको फराकिलो जित हात पारेको थियो। पहिले ब्याटिंग गरेको पन्जाबले कप्तान लोकेश राहुलको १३२ रनको अविजित पारीको मद्दतमा २०६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा बैंगलोरले १७ ओभरमा मात्र १०९ रन बनाउन सकेको थियो।
हेड टु हेड :- हालसम्म दुई टोलिबीच कुल २५ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये पन्जाबले १३ खेलमा तथा बैंगलोर १२ खेलमा विजयी भएको छ। गत सिजन दुबै खेलमा बैंगलोरले जित दर्ता गरेको थियो जुन क्रममा १० विकेट र ८ विकेटले सहजै विजयी भएको थियो।
खेल हुने मैदान :- जारी प्रतियोगितामा हालसम्म शारजाह क्रिकेट स्टेडियममा ६ खेल सम्पन्न भैसकेको छ। पछिल्लो पटक पन्जाबले राजस्थान विरुद्ध यसै मैदानमा खेलेको थियो भने बैंगलोरले पछिल्लो खेलमा कोलकातासंग यसै मैदानमा ८२ रनको फराकिलो जित दर्ता गरेको थियो। सुरुवाती खेलमा ब्याट्सम्यानलाई मद्दत गरेता पनि पछिल्लो २ खेलमा शारजाहमा ब्याट्सम्यानहरुको लागि मुस्किल पिच देखिएको थियो।
टिममा हुन सक्ने परिवर्तन :-
बैंगलोर :- राम्रो लयमा रहेको बैंगलोरलाई परिवर्तन गर्ने सम्भावना निकै कम छ।
बैंगलोरको सम्भावित अन्तिम ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, मोहम्मद सिराज , शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, क्रिस मोरिस , युजभेन्द्र चहल, नभदिप सैनी

पन्जाब :- आजको खेलमा क्रिश गेल उपलब्ध हुँदा पन्जाबले म्याक्सवेलको स्थानमा उनलाई मौका दिने सम्भावना प्रवल छ। मुजिब उर् रहमान पनि दुवै खेलमा महगो रहँदै विकेटविहिन रहंदा उनलाई पनि टिमले प्रतिस्थापन गर्न सक्छ। मुजिब नखेलेको खण्डमा लेग स्पिनर मुरुगन आश्विन फिर्ता हुन सक्नेछन्। तिब्र गति बलिंग अलराउण्डर जेम्स निशम पनि भित्रिन सक्नेछन्। त्यसैले पन्जाब टिममा कम्तिमा २ वटा परिवर्तन देख्न सकिनेछ।
पन्जाबको सम्भावित अन्तिम ११ : केएल राहुल , मायाँक अग्रवाल, निकोलास पुरन, क्रिस गेल , जेम्स निशम/ग्लेन म्याक्सवेल, मन्दिप सिंह, रभी बिस्नोइ, क्रिश जोर्डान, मोहम्मद शामी, मुरुगन आश्विन/ कृष्णप्पा गोथम , अर्शदिप सिंह
रोचक रेकर्ड :-
१. बैंगलोर कप्तान कोहली लिगमा ५०० चौका र २०० छक्का प्रहार गर्नबाट क्रमशः ६ चौका र ३ छक्का टाढा छन्।
२. बैंगलोरको प्रतिनिधित्व गर्दै ४००० रन बनाउनबाट एबि डिभिल्लियर्स ४८ रन टाढा छन्।
३. लिगमा ४५०० रन पूरा गर्नबाट गेल १६ रन टाढा छन्।
४. पन्जाब ब्याट्सम्यान ग्लेन म्याक्सवेलले लिगमै सबैभन्दा बढी ६१ बल खेल्दा कुनै छक्का हिर्काउन सकेका छैनन्।
रोमान्चक खेलमा राजस्थानलाई पराजित गर्दै दिल्ली पुनः शिर्षमा
IPL : रैना, कोहली र रोहितको रेकर्ड तोड्दै धवनले बनाए ठूलो कीर्तिमान
इमरान ताहिरको सबैको मन जित्ने ट्वीट
टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण
