लज्जास्पद सुरुवातपछि चेन्नाईलाई स्याम करनले जोगाए, बोल्टको करियरकै उत्कृस्ट बलिंग

२०७७ कार्तिक ७, शुक्रबार २१:३४

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार ४१ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किङ्ग्सले रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्ससंग प्रतिस्पर्धा गर्दैछ।

शारजाह मैदानमा टस हारेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउदै मुम्बईलाई ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नाईको लागि स्याम करनले करियरको दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए जुन क्रममा ४ चौका र २ छक्का प्रहार गरे। कप्तान महेन्द्र सिंह धोनीले १६, इमरान ताहिरले अविजित १३ तथा शार्दुल ठाकुरले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। १२ रन मुम्बईले अतिरिक्तको रुपमा दिएको थियो।

चेन्नाईको सुरुवात अत्यन्त खराब रह्यो। आईपीएल इतिहासमै पहिलो पटक चेन्नाईले पावरप्लेको ६ ओभरमा ५ विकेट गुमायो।

ओपनर रुतुराज गायकवाडलाई पहिलो ओभरमा ट्रेन्ट बोल्टले खाता नखोली एलबुडब्लु गर्दै विकेट पतनको सुरुवात गरेका थिए। त्यसपछि दोश्रो ओभरमा जस्प्रित बुम्राहले अम्बाती रायडु ( २ रन ) र एन जगदिशनलाई ( ० ) क्याच आउट गराए। लगत्तै ओभरमा बोल्टले फाफ डु प्लेसीलाई ( १ ) विकेटकिपर डीककबाट क्याच आउट गराए। ३ रनको योगफलमा चेन्नाईले ४ विकेट गुमायो।

ट्रेन्ट बोल्ट

पाँचौ विकेटको लागि महेन्द्र सिंह धोनी र रभिन्द्र जडेजाले विकेट जोगाउने प्रयास गरे। तर १८ रनको साझेदारी पछि छैठौं ओभरमा ट्रेन्ट बोल्टले ७ रन बनाएका जडेजालाई क्याच आउट गराउदै व्यक्तिगत तेश्रो विकेट लिए। लगत्तै ओभरमा २ चौका र १ छक्का मद्दतले १६ रन बनाएका कप्तान धोनीलाई लेग स्पिनर राहुल चाहरले विकेटकिपर डीककबाट क्याच आउट गराउदै छैठौं विकेट लिए।

३०/६ को अवस्थाबाट स्याम करन र दिपक चाहरले १३ रन जोडे। नवौं ओभरमा राहुल चाहरले दोश्रो विकेट लिने क्रममा दिपक चाहरलाई स्टम्प आउट गर्दै खाता नखोली पेभेलियन फर्काए।

चेन्नाईको योगफल ४३/७ पुग्यो जुन आईपीएल इतिहासमै पहिलो ७ विकेट गुम्दा संयुक्त रुपमा दोश्रो कम योगफल हो। यस अघि २०१७ मा बैंगलोरले कोलकातासग ४२ रनमा ७ विकेट गुमाएको थियो। २००८ मा बैंगलोरले कोलकातासंग ४३ रन बनाउदा ७ विकेट गुमाएको थियो।

स्याम करनले आठौँ विकेटको लागि शार्दुल ठाकुरसंग २८ रनको साझेदारी गरे। ११ रन बनाएका ठाकुरलाई १५ औं ओभरमा नाथन कौल्टर नाइलले क्याच आउट गराए। त्यसपछि करनले नवौं विकेटको लागि इमरान ताहिरसंग ३१ बलमा ४३ रनको साझेदारी गरे। नवौं विकेटको लागि यो लिग इतिहासकै ठुलो साझेदारी हो।

करनले ट्रेन्ट बोल्टको अन्तिम ओभरमा ३ चौका हिर्काउदै चेन्नाईलाई सम्मानजनक योगफलसम्म पुर्याए। अन्तिम बलमा बोल्टले करनलाई बोल्ड गर्दै चौथो शिकार बनाए।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १८ रन खर्चिए। आईपीएलमा बोल्टको यो करियरकै उत्कृस्ट बलिंग स्पेल हो। जस्प्रित बुम्राह ( ४-०-२५-२ ) र राहुल चाहरले ( ४-०-२२-२ ) समान २ विकेट लिए । नाथन कौल्टर नाइलले १ विकेट ( ४-०-२५-१ ) लिए।

अंकतालिका :  ९ खेलमा ६ जित र ३ हारपछि १२ अंक बटुल्दै मुम्बई अंकतालिकाको तेस्रो स्थानमा छ। यस्तै, १० खेलमा मात्र ३ जित र ७ हारपछि ६ अंकसहित चेन्नाई अंकतालिकाको पुछारमा छ। चेन्नाई इतिहासमै पहिलो पटक लिग स्टेजबाटै बाहिरिने त्रासमा रहेको छ । चेन्नाईलाई शिर्ष-४ मा रहने सम्भावना जीवित राख्न आज सहित बाँकी ४ खेल जित्नैपर्ने हुन्छ भने त्योसंगै अन्य टिमको नतिजामा निर्भर रहनुपर्ने छ। तेस्रो स्थानमा रहेको मुम्बई आज जित दर्ता गरे पुनः अंकतालिकाको शिर्ष स्थानमा पुग्दै प्लेअफ सम्भावना लगभग निश्चित गर्नेछ।

IPL : चेन्नाई अझै प्लेअफ पुग्न सक्छ ? पढ्नुस कसरि

हृदयघातपछि पूर्व भारतीय कप्तान कपिल देव अस्पताल भर्ना

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

IPL : रोचक बन्दै प्ले-अफ दौड

लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy