IPL : बैंगलोर र मुम्बईलाई प्ले-अफ र शिर्ष स्थानमा पुग्ने अवसर

२०७७ कार्तिक १२, बुधबार १३:०३

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधवार ४८ औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्सले बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोरको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

दुबै टोलि समान ११ खेलमा समान १४ अंकसहित नेट रन रेटको आधारमा तालिकाको शिर्ष (मुम्बई इण्डियन्स) र दोस्रो स्थानमा (रोयल च्यालेंजर्स बैंगलोर) छन्। आज जित हात पार्दै दुबै टोलिलाई प्ले-अफका लागि छनोट हुनुको साथै अंकतालिकाको शिर्ष स्थानमा उक्लने मौका छ। दुबै टोलि बाँकी ३ खेलमा जित निकाल्दै शिर्ष-२ स्थान सुरक्षित गर्न चाहन्छन्।

मुम्बई इन्डीएन्स

मुम्बई अंकतालिकाको शिर्षस्थानमा रहेता पनि अन्तिम ३ खेलमा २ वटा हारले थोरै चिन्तित छ। रोहित शर्मा अनुपस्थित हुँदा टिमको चिन्ता थप भएको छ। मुम्बईको लक्ष्य प्ले-अफ पुग्नु भन्दा उत्कृस्ट-२ भित्र पर्नु हो जसको लागि बाँकी ३ खेलमा २ वटा जित अत्यावश्यक छ। तर लिगमा मुम्बईले एक मात्र पराजित गर्न नसकेको टिम बैंगलोरलाई पराजित गर्नु सहज भने छैन।

लिगमा मुम्बईको सफलताको पछाडी टिम खेल जिताउने खेलाडीहरुको उपस्थिति हो। ब्याटिंगमा ओपनर क्विन्टन डीकक ११ खेलमा ३७४ रन बनाउदै उत्कृस्ट लयमा छन्। रोहित शर्मा, इशान किशन, सुर्यकुमार यादव, हार्दिक पान्ड्या, काइरन पोलार्ड जस्ता ब्याट्सम्यानहरुले बारम्बार आफुलाई प्रमाणित गर्दै आएका छन्। बलिंगमा ११ खेलमा १७ विकेट लिएका जस्प्रित बुम्राह तथा १६ विकेट लिएका ट्रेन्ट बोल्टको फास्ट बलिंग जोडीलाई जेम्स प्याटिन्सनको साथ छ। यस्तै राहुल चाहर र क्रुनाल पान्ड्याको स्पिन जोडी उत्तिकै प्रभावकारी छन्। चाहरले १३ विकेट लिईसकेका छन् भने पान्ड्याले ५ विकेट मात्र लिएता पनि किफायती बलिंग गर्दै दबाब बनाउने गर्छन्।

पछिल्लो खेलमा मुम्बई राजस्थानसंग ८ विकेटले पराजित हुँदा मुम्बईले दिएको १९६ रनको लक्ष्य राजस्थानले २ विकेट गुमाएर पुरा गरेको थियो। बेन स्टोक्सले शतक बनाउदै मुम्बई बलरहरुलाई कुनै मौका छोडेका थिएनन्। जेम्स प्याटिन्सनले २ विकेट लिएता पनि अन्य सबै बलर विकेटविहिन रहेका थिए। सो प्रदर्शन भुल्दै मुम्बई बैंगलोरलाई आफ्नो पुरानै सन्तुलन प्रस्तुत गर्न चाहनेछ।

रोयल च्यालेन्जर्स बैंगलोर 

मुम्बईसंग समान १४ अंक रहेता पनि बैंगलोर नेट रन रेटमा मुम्बईभन्दा निकै पछि छ। बैंगलोरलाई पनि प्लेअफ पुग्न एउटा जित आवस्यक छ भने २ जितले उत्कृस्ट-२ मा स्थान पक्का गर्नेछ। यो सिजन इतिहासमा पहिलो उपाधि जित्ने अभियानमा रहेको बैंगलोर मुम्बईलाई जित्दै त्यसको लागि तयार छ भन्ने देखाउन चाहन्छ।

बिराट कोहली, डेभदत्त पडीक्कल, एबि डी भिल्लीयर्स जस्ता नियमित राम्रो ब्याटिंग गरिरहेका ब्याट्सम्यानहरु तथा बलिंगमा युजभेन्द्र चहल, क्रिस मोरिस, वासिंगटन सुन्दर, नभदिप सैनीको प्रदर्शनले गर्दा बैंगलोर यो सिजन सन्तुलित देखिएको छ। कोहली ११ खेलमा ४१५ रन बनाउदै चौथो सर्वाधिक रनकर्ता हुन् भने लेग स्पिनर चहल १६ विकेट सहित ट्रेन्ट बोल्टसंगै चौथो सर्वाधिक विकेटकर्ता रहेका छन्।

पछिल्लो खेलमा चेन्नाई बिरुद्ध ८ विकेटको हार बेहोर्ने क्रममा बैंगलोरले दिएको १४६ रनको लक्ष्य चेन्नाईले २ विकेट गुमाएर सहजै पछ्याएको थियो। ब्याटिंगमा माथिल्लो क्रममा कोहली, पडीक्कल र डी भिल्लीयर्स चले नम्बर ४ पछिका ब्याट्सम्यानहरु चलन सकेका थिएनन् जुन बैंगलोरको कमजोर पक्ष पनि देखिएको छ।

पछिल्लो भेट :- जारी सिजन लिग अन्तर्गत १० औं खेलमा यी दुई टोलिबीच दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा प्रतिस्पर्धा भएको थियो जसमा बैंगलोर सुपर ओभरमा विजयी भएको थियो। पहिले ब्याटिंग गरेको बैंगलोरले देभदत्त पाडिक्क्ल, एरोन फिंच र एबी डीभिल्लियर्सको अर्धशतक मद्दतले २०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा इशान किशन र कायरन पोलार्डले आक्रामक ब्याटिंग गर्दै खेल्दै खेललाई सुपर ओभरतर्फ डोर्याएका थिए। सुपर ओभरमा मुम्बईले ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन बैंगलोरले अन्तिम बलमा भेटाएको थियो।

मुम्बईको सम्भावित ११ : रोहित शर्मा/सौरभ तिवारी, क्विन्टन डीकक, सुर्यकुमार यादव, इशान किशन, कायरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

कप्तान शर्माको फिटनेस बारे जानकारी अझै नआएता पनि उनि अझै नखेल्ने सम्भावना प्रवल रहेको छ। उनि फिट भएको खण्डमा सौरभ तिवारी बाहिरिने छन्। अन्यथा टिमले अन्य परिवर्तन गर्न चाहदैन।

बैंगलोरको सम्भावती ११ :- एरोन फिन्च/जोश फिलिप्पे, देभदत्त पाडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, गुर्किरत सिंह, शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उदाना/मोइन अलि, युजभेन्द्र चहल, नवदिप सैनी, क्रिस मोरिस

एरोन फिंच खराब लयमा रहदा टिमले उनलाई मौका दिन्छ या दिदैन हेर्न लायक हुनेछ। पछिल्लो खेलमा इसुरु उदानाको स्थानमा मोइन अलिले मौका पाएका थिए जसको प्रदर्शन खास रहन सकेको थिएन। उनको स्थानमा पुन: उदानाले मौका पाउन सक्छन्।

रोचक रेकर्ड :- 

१. दायाँ हाते फास्ट बलर जस्प्रित बुम्राह लिगमा १०० विकेट हात पार्नबाट मात्र १ विकेट टाढा छन्।

२. लिगमा १००० रन बनाउनबाट इशान किशन ७ रन टाढा छन्।

३. लिगमा २००० रन पुरा गर्नबाट एरोन फिंच २७ रन टाढा छन्।

४. मुम्बई विरुद्ध ७५० रन बनाउनबाट एबी डिभिल्लियर्स ३९ रन टाढा छन्।

हैदरावाद कप्तान वार्नरले आईपीएलमा पहिलो पटक गरे बलिंग , हेर्नुस भिडियो

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

हैदरावादसंग विशाल हार तथा लगातार तेश्रो हारपछि दिल्ली कप्तान ऐयरले के भने

राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy