सुपर ओभरमा खेल जित्दै कराची पाकिस्तान सुपर लिगको फाइनलमा

२०७७ कार्तिक ३०, आईतवार १०:१४

पाकिस्तान सुपर लिगको शनिवार सम्पन्न क्वालीफायरमा मुल्तान सुल्तानलाई सुपर ओभरमा पराजित गर्दै कराची किंग्स पाकिस्तान सुपर लिगको फाइनलमा पुगेको छ।

मुल्तान र कराचि दुवैले १४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा कराचीले दिएको १४ रनको लक्ष्य पछ्याउने क्रममा मुल्तानले ६ रन मात्र बनाउन सकेको थियो। मोहम्मद आमिरले शानदार बलिंग गर्दै टिमलाई जित दिलाएका थिए।

अन्तिम ओभरमा जितको लागि मुल्तानलाई ७ रन मात्र आवस्यक हुँदा मोहम्मद इल्यासले ६ रन मात्र खर्चदा खेल सुपर ओभरमा पुगेको थियो। पहिलो ५ बलमा १ विकेट लिंदै उनले मात्र २ रन खर्चिएपछि अन्तिम बलमा जित्न ५ रन आवस्यक हुँदा इमाद वासिमले चौका हिर्काउदै खेल बराबरी गरेका थिए।

खेलको प्लेयर अफ द म्याच कराचीका ब्याट्सम्यान बाबर आजम घोषित भए जसले ५३ बलमा ६५ रन बनाएका थिए।

पहिलो इलिमीनेटर – हफिजले उत्कृस्ट ब्याटिंग गर्दा लाहोरको जित 

शनिवारको दोश्रो खेलमा मोहम्मद हफिजले उत्कृस्ट ब्याटिंग गर्दा पेशावर जाल्मीलाई पराजित गर्दै लाहोर कलन्दर्स लिगको दोश्रो इलिमीनेटरमा प्रवेश गरेको छ।

दोश्रो इलिमीनेटरमा आइतबार मुल्तान सुल्तानसंग लाहोरको भेट हुनेछ जुन खेल जित्ने टिमले फाइनलमा मंगलबार कराची किंग्ससंग प्रतिस्पर्धा गर्नेछ।

कराची नेसनल स्टेडियममा सम्पन्न खेलमा पेशावर जाल्मीले दिएको १७१ रनको लक्ष्य लाहोरले ५ विकेट गुमाएर १९ ओभरमा पुरा गरेको थियो।

खराब सुरुवात गर्दै पहिलो ३ विकेट ३३ रनमै गुमाएको लाहोरलाई चौथो नम्बरमा ब्याटिंग गरेका हफिजले शानदार ब्याटिंग गर्दै जितसम्म पुर्याए। हफिजले चौथो विकेटको लागि बेन डंकसंग ५५ रनको, पाँचौ विकेटको लागि समित पटेलसंग ४२ रनको तथा छैठौं विकेटको लागे डेभिड वेससंग अविजित ४१ रनको साझेदारी गरे।

अन्तिम ३ ओभरमा जितको लागि ३६ रन आवस्यक रहंदा हफिजले सकिब मोहम्मदले गरेको १८ औं ओभरमा २ चौका र १ छक्का हिर्काएका थिए। त्यसपछि अन्तिम ८ बलमा जित्न १२ रन आवस्यक हुँदा वाहब रियाजलाई लगातार २ छक्का हिर्काउदै टिमलाई जितसम्म पुर्याएका थिए।

४० वर्षीय दायाँ हाते ब्याट्सम्यानले अविजित ७४ रन बनाउने क्रममा ४६ बलमा ९ चौका र २ छक्का प्रहार गरे। डंक र पटेलले समान २० रन, तामिम इकबालले १८ तथा वेसले अविजित १६ रन बनाए।

पेशावरको बलिंगमा सकिब मोहम्मदले सर्वाधिक ३ विकेट तथा राहत अलि र मोहम्मद इरफानले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पेशावरले २० ओभरमा ९ विकेट गुमाएर १७० रन बनाएको थियो। उसको लागि शोयब मलिकले सर्वाधिक ३९, हर्दुस भिलजोनले ३७, इमाम उल हकले २४ रन बनाए।

लाहोरको बलिंगमा दिलबर हुसेनले सर्वाधिक ३ विकेट लिए भने शाहिन अफ्रिदी, हरिस रौफ र डेभिड वेसले समान २ विकेट लिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/nepal-head-coach-mangsir-doshro-sata-wn20/

https://wicketnepal.com/sandeep-big-bash-league-team-wn20/

https://wicketnepal.com/ipl-winner-puraskara-rakam-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy