सन्दिपले होबार्टबाट बिग ब्यास खेल्ने, कति पाउनेछन् मूल्य, कहिले छ खेल

२०७७ मंसिर ४, बिहीबार १८:४१

आगामी महिना डिसेम्बर १० बाट फेब्रुअरी ३ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुने १० औं सिजनको बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले  होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्ने भएका छन्। बिहिबार होबार्टले आधिकारिक रुपमा सन्दिपलाई आबद्ध गरेको घोषणा गरेको हो।

“बिग ब्यास लिगको १० औं सिजन होबार्टको लागि खेल्न पाउदा मैले सम्मानित महसुस गरेको छु।”

“मैले अस्ट्रेलियामा धेरै माया र समर्थन पाएको छु। उच्चस्तरीय बिग ब्यास लिग खेल्न उत्साहित छु। म ब्लन्डस्टोन एरिनामा खेल्न आतुर छु” सन्दिपले होबार्टसंग आबद्धता पछि प्रतिक्रिया दिएका छन्।

सन्दिपले बिग ब्यास लिग अन्तर्गत पछिल्लो २ सिजनमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका थिए जुन क्रममा नेपाली स्पिनरको प्रदर्शन तारिफयोग्य रहेको थियो भने उनको उपस्थितिले नेपाली समर्थकहरुलाई समेत स्टेडियमसम्म डोर्याउने गरेको छ। २ सिजन खेल्ने क्रममा नेपाली स्पिनरले २० खेलमा २६ विकेट लिने क्रममा मात्र ७.२७ रन प्रतिओभर रन खर्चेका थिए भने १६.३ को स्ट्राइक रेटमा विकेट लिएका थिए।

होबार्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्फिथले सन्दिप टिमको एक्स-फ्याकटरको रुपमा रहने बताए –

“हामीले देखेका छौँ कि सन्दिपले आफ्नो रहस्यमय स्पिन बलिंगले खेल परिवर्तन गर्न सक्छन्। उनि इनिंग्सको जुन सुकै समयमा पनि बलिंग गर्न सक्छन्। उनले आफुलाई विकेट लिन सक्ने बलरको रुपमा प्रमाणित गरेका छन् जसको आगमनले हाम्रो बलिग्न आक्रमण अझ बलियो बनेको छ।”

होबार्टले सन्दिपलाई आबद्ध गरेको रकम भने सार्वजनिक गरेको छैन। सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले पनि रकम खुलाउन नमिल्ने विकेटनेपाललाई बताएका छन्। नेपाली स्पिनरलाई २०१८ मा पहिलो पटक मेलबर्न स्टार्सले टिममा अनुबन्ध गर्दा ६०-७० हजार डलर रकम दिएको बताईएको थियो जसको अधिकारिक घोषणा भने गरिएको थिएन। त्यसपछि गत सिजनको मूल्य सार्वजनिक नगरीएको भएता पनि पहिलो सिजन भन्दा मूल्य बढेको बताईएको थियो। यो सिजन दोश्रो सिजनकै हाराहारीमा रकम पाउने अनुमान गर्न सकिन्छ। क्रिकेट अस्ट्रेलियाले कुनै पनि खेलाडीको अनुबन्ध घोषणा गर्दा रकम घोषणा गर्ने गरेको छैन।

होबार्टले यो सिजन विदेशी खेलाडीको रुपमा सन्दिप बाहेक दवीड मलान, किमो पौललाई अनुबन्ध गरिसकेको छ। यस्तै विदेशी प्रतिस्थापन खेलाडीको रुपमा विल ज्याक्स र कोलिन इन्ग्राम रहेका छन्। जेम्स फल्कनर, पिटर ह्यान्ड्सकम्ब, बेन म्याकडरमोट, ड्यारसी सर्ट जस्ता अस्ट्रेलियन खेलाडीहरु टिममा रहेका छन्।

लिगमा सहभागिता जनाउन सन्दिप डिसेम्बर दोश्रो साता अस्ट्रेलिया प्रस्थान गर्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्। होबार्टले डिसेम्बर १० मा लिगको उद्घाटनमा सिड्नीसंग खेल्नेछ जसपछि डिसेम्बर १३ र १५ मा एडीलेडसंग लगातार २ वटा खेल खेल्ने तालिका रहेको छ। सन्दिप अस्ट्रेलिया पुगेपछि अनिवार्य १४ दिन क्वारेन्टाइन बसेपछि डिसेम्बर १९ मा मेलबर्न रेनेगेड्ससंगको खेल अथवा त्यसपछि डिसेम्बर २७ मा ब्रिसबेनसंग खेल्नको लागि उपलब्ध हुनेछन्।

होबार्टले हालसम्म बिग ब्यासको उपाधि जित्न सकेको छैन। २०१३ र २०१७ गरि २ पटक मात्र टिम फाइनल प्रवेश गर्न सफल रहेको थियो। गत सिजन होबार्ट लिग अंकतालिकामा १४ खेलमा ६ जितपछि अंकतालिकामा चौथो स्थानमा रहँदै प्ले-अफ पुगेको थियो। इलिमीनेटरमा टिम सिड्नीसंग ५७ रनले पराजित हुँदै लिगबाट बाहिरीएको थियो।

सम्बन्धित 

https://wicketnepal.com/sandeep-10-rec-in-t20-leagues-wn20/

https://wicketnepal.com/sandeep-best-9-spell-in-foreign-t20-league/

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/can-npl-aayojna-wn20-ghoshana/

https://wicketnepal.com/nepal-odi-manyata-2023-samma/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy