बन्दप्रशिक्षण अघि पीसीआर परीक्षणमा ६ जना खेलाडीहरु अनुपस्थित

२०७७ मंसिर ९, मंगलवार २१:१३

बुधबार देखि सुरु हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि कोरोना परिक्षणको लागि गरिएको पीसीआर परिक्षणमा ६ जना खेलाडीहरु अनुपस्थित भएका छन्।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा खेलाडी, सपोर्ट स्टाफ तथा ग्राउण्ड स्टाफहरुको स्वाव संकलन गरिएको थियो। बन्द प्रशिक्षणको लागि घोषित २२ जना खेलाडी मध्ये मंगलबार १६ जना उपस्थित भएको टिम व्यवस्थापक विक्रम न्यौपानेले विकेटनेपाललाई जानकारी गराए।

अनुपस्थित ६ जना खेलाडीहरु शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, करन केसी, सन्दिप लामिछाने र कुशल मल्ल रहेका छन्। कुशल मल्लको हाल १२ कक्षाको परिक्षा चलीरहेकोले अनुपस्थित रहेका हुन् भने अन्य खेलाडीहरुले अत्यावश्यक व्यक्तिगत कारण देखाएको न्यौपानेले जानकारी गराए।

“अत्यावश्यक कारण देखाएर खेलाडीहरु अनुपस्थित हुन नसकेका हुन्। सबैले कारण सहित अनुपस्थितिको कारण बताएका छन्। ४-५ दिन र बढीमा १ साता भित्रमा बाँकी खेलाडीहरु बन्द प्रशिक्षणमा उपस्थित हुनेछन्।” न्यौपानेले बताए।

कुशल मल्ल १२ कक्षाको परीक्षा चलीरहेकोले अनुपस्थित भएका हुन्

बुधबार बिहान कोभिड-१९ को रिपोर्ट आएपछि खेलाडीहरुले बन्द प्रशिक्षण सुरु गर्नेछन्। रिपोर्ट नेगेटिभ आएमा मात्र खेलाडीहरु क्याम्पमा सहभागी हुनेछन्।

खेलाडीहरु गौशाला स्थित होटल शिभम प्लाजामा बसीरहेका छन् जो क्यानको बसबाट टियु मैदान जानेछन्। अभ्यासको दौरान टियु मैदान तथा होटल बाहिर जाने अनुमति खेलाडी र ग्राउण्ड स्टाफहरुलाई रहेको छैन। खेलाडीहरुको अन्य मनोरञ्जनको लागि भित्रै टेबलटेनिस, भलिबल, ब्याडमिन्टन जस्ता खेलहरुको पनि व्यवस्था गरिएको छ।

“आईसीसीले बताएको प्रोटोकलमा रहेर बन्द प्रशिक्षण संचालन हुनेछ। अभ्यासको दौरान टियु मैदानको गेट सिल हुनेछ। कोहि पनि खेलाडीहरु बाहिर निस्कन पाउने छैनन्। अति आवस्यक काम परेमा मात्र क्यानको अनुमतिमा खेलाडीहरु बन्द प्रशिक्षणबाट बाहिरिन पाउनेछन्।” होटलमा राष्ट्रिय टिमका सदस्यहरु मात्र बस्नेछन् जहाँ खेलाडीहरुको लागि सम्पूर्ण व्यवस्था गरिएको न्यौपानेले बताए।

बन्द प्रशिक्षणको पहिलो साता नेपाली टिमले हल्का अभ्यास बाट सुरु गर्नेछ। पहिलो चरणको बन्द प्रशिक्षणको दौरान टिमले मङ्सिरको अन्तिममा चितवनमा गएर अभ्यास खेल खेल्ने समेत योजना रहेको छ जसबारे अन्तिम निर्णय छिट्टै हुनेछ।

न्यौपानेका अनुसार डिसेम्बरको अन्तिममा प्रधानमन्त्री कप तथा त्यसपछि अन्तर्राष्ट्रिय टिमलाई नेपाल ल्याउने या नेपाली टिम समेत बाहिर टुरमा जान सक्ने विषयमा समेत छलफल भैरहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy