भेट्रान स्पिनर बसन्त रेग्मी पनि कोरोना संक्रमित

२०७७ मंसिर ११, बिहीबार ०७:४७

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन नआएका भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य समस्या देखिएपछि गृहनगर भैरहवामा उनले गत साता कोरोना परिक्षण गराएका थिए जसको रिपोर्ट पोजेटिभ देखिएपछि उनि बन्द प्रशिक्षणमा सहभागी नभएका हुन्। उनि हाल भैरहवामै सेल्फ आइसोलेसनमा बसीरहेका छन्। रेग्मीले बन्द प्रशिक्षणमा सहभागी नहुनुको कारण क्यानलाई जानकारी गराएका थिए। उनको परिवारको सदस्यमा समेत कोरोना देखिएको थियो। अब उनि निको भएपछि पुनः बन्द प्रशिक्षणमा फर्कनेछन्। गत वर्ष जुलाईमा सिंगापुरमा आयोजित टि-२० विश्वकप एसिया छनौट पछि रेग्मीले राष्ट्रिय टिमको लागि खेलेका छैनन्।

यस अघि मंगलबार राष्ट्रिय टिमका अन्य ३ सदस्य कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो। यस्तै टिमका बस चालक प्रदिप लामामा पनि कोरोना देखिएको थियो।रेग्मीलाई केहि लक्षणहरु देखिएता पनि अन्य संक्रमित खेलाडीहरुको अवस्था सामान्य रहेको छ। मल्ल, ऐरी र पौडेल टिम बसेको काठमाडौं स्थित होटल शिभम प्लाजामा सेल्फ आइसोलेसनमा बसेका छन्।

४ खेलाडीलाई कोरोना देखिएपछि क्यानले बन्द प्रशिक्षणमा सहभागिताको लागि थप ५ जना खेलाडीलाई बोलाएको छ। अनिल साह, बिक्रम सोब, कुशल भुर्तेल, रित गौतम र लोकेश बमलाई बोलाइएको छ।

अनिल साह, रित गौतम, कुशल भुर्तेल, लोकेश बम र बिक्रम सोबलाई क्यानले बन्द प्रशिक्षणमा बोलाएको छ

गत वर्ष चैत पछि पहिलो पटक नेपाली राष्ट्रिय टिमले एकसाथ बन्द प्रशिक्षण गर्न लागेको हो। क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले दिएको प्रोटोकल अनुसार प्रशिक्षण सुरु गर्न लागेको हो। खेलाडी तथा स्टाफमा कोरोना देखिएपछि क्यानले बन्द प्रशिक्षणको पहिलो साता टियु मैदानमा मिडिया प्रवेशमा समेत रोक लगाएको छ। खेलाडीहरुलाई पनि होटल र मैदानबाट बाहिर निस्कन दिईने छैन।

श्रोतका अनुसार बन्द सत्रको पहिलो चरण करिब ३ साता चल्नेछ जसपछि नेपाली टिमले चितवनको निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगाशालासंगै रहेको अर्को मैदानमा त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपाली टिम पछि खेल्ने अन्य टिम कुन हुने बारे जानकारी प्राप्त भएको छैन। डिसेम्बर अन्तिममा क्यानले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता समेत आयोजना गर्ने बताएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy