एलपीएल : जाफ्नाको जितमा कप्तान परेराको विस्फोटक इनिंग

२०७७ मंसिर १५, सोमबार २१:१६

कप्तान थिसारा परेराले शानदार अलराउण्ड प्रदर्शन गर्दा दाम्बुला भाइकिंगलाई ६६ रनले पराजित गर्दै जाफ्ना स्टालिएन्स लंका प्रिमियर लिग अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ। २ खेलमा समान २ जित पछि समान ४ अंक रहेता पनि कोलोम्बो किंग्स नेट रन रेटमा पछि रहँदै अंकतालिकाको दोश्रो स्थानमा रहेको छ। हारपछि २ खेलमा १ जित र १ हार बेहोरेको दाम्बुला २ अंक सहित तेश्रो स्थानमा रहेको छ।

महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय स्टेडियम, हम्बन्टोटामा सम्पन्न सोमबारको पहिलो खेलमा जाफ्नाले पहिले ब्याटिंग गर्दै २१८ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा दाम्बुलाले १९.१ ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो।

दाम्बुलाको लागि समित पटेलले सर्वाधिक ४१, कप्तान दासुन शनाकाले ३५, अनवर अलिले २१ तथा निरोशन डिकवेलाले २० रन योगदान दिए। जाफ्नाको बलिंगमा उस्मान शिनवारिले १६ रन खर्चेर ३ विकेट तथा बिनुरा फर्नान्डो र थिसारा परेराले समान २ विकेट लिए।

परेराको आक्रामक ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा जाफ्नाले २० ओभरमा ७ विकेट गुमाएर २१८ रन बनाएको थियो।

६४ रनको योगफलमा जाफ्नाले ५ विकेट गुमाइसकेको थियो जसपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका परेराले विस्फोटक ब्याटिंग गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्याए।

उनले मात्र ४४ बलमा ८ चौका र ७ छक्का मद्दतले अविजित ९७ रन बनाए। मात्र २७ बलमा अर्धशतक पुरा गरेका उनले इनिंगको १९ औं ओभरमा लाहिरु कुमाराको एकै ओभरमा ३ छक्का र ३ चौका मद्दतले ३० रन बनाएका थिए। चमरा डी सिल्भले २९, वानिन्दु हसरंगाले २४ तथा शोयब मालिकले २३ रन योगदान दिए।

दाम्बुलाको बलिंगमा समित पटेलले सर्वाधिक २ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy